Sunday, November 10, 2019

मनको ज्वालामुखी

                                             २०७६/०७/२५
कालापानी लिपुलेक अनि लिम्पिया धुरामा
सार्वभौम टुटेको छ सिमानाको कुरामा

केचनाकवल मर्चवारी दशगजा र सुस्तामा
कूटनीति चुकेको छ आश्वासन र पुरामा

घमण्ड छैन जसको छाती र पाखुरामा
स्वाभिमान झुकेको छ नेपाली पुर्पुरामा

पहिचान गुमेको छ अस्मिता लुटेको छ
अभिमान सुकेको छ सर्वोच्च टाकुरामा

बारूद होइन मनको महाविस्फोट हुनेछ
ज्वालामुखी लुकेको छ म नेपाली सुरामा

Saturday, November 9, 2019

झुकेको स्वाभिमान

                                                      २०७६/०७/२३
कालापानी लिपुलेक अनि लिम्पिया धुरामा
स्वाभिमान झुकेको छ सिमानाको कुरामा

केचनाकवल मर्चवारी दशगजा र सुस्तामा
कूटनीति चुकेको छ जहाँ आश्वासन र पुरामा

घमण्ड नगरे हुन्छ चौडा छाती र पाखुरामा
तिम्रो भन्दा शान देख्छु बहरको त्यो जुरामा

पहिचान गुम्दापनि तिम्रो तातो रगत उम्लिन्न भने
गौरव व्यर्थ छ तिम्रो बुद्ध अनि सर्वोच्च टाकुरामा

बम बारुद होइन मनको महाविस्फोट जरुरी छ
होइन भने उसले परेड खेल्नेछ डोटी अनि बाजुरामा 

Tuesday, October 1, 2019

देखाउने दाँत

                                                         २०७६/०६/११
खाने पेटमा छन् हाँस्दा देखाउने दाँत न हुन्
औषधि छैन जसको उनले गरेका घात न हुन्

आश गरे भर परे सपना पनि उनकै देखें
हाँसी हाँसी सहें मैले उनले हानेका लात न हुन्

मैले सम्झिने केवल ती रंगीन रात न हुन्
हर कदममा डगमगाउने जवानीका मात न हुन्

मायाको आडमा मेरो आत्माको बलात्कार गरे
शरीरभरी सल्बलाउने उनका पवित्र हात न हुन्

खुकुरीले थाहा पायो न त्यो पीर अचानोले
टुक्रा भयो मेरो मुटु उनका हलुका बात न हुन्

बढार्नै नपर्ने वतासले उडाउने ती झारपात न हुन्
जरा गहिरै गडेछन् क्यारे यी त उनकै गात न हुन् 

Wednesday, September 25, 2019

जय नेपाल

                                                   २०७६/०६/०८
देशभक्त नेपालीले किन भनेनन् जय नेपाल ?
उनले जय देश गरे किन गरेनन् जय नेपाल ?

उनले गा-हो गरी भन्छन् यहाँ जय मातृभूमि
जय राष्ट्र बोल्छन् किन बोलेनन् जय नेपाल ?

विभाजित छन् ठूलाबडा यही एउटा मुद्दामा
जदौ बोके दर्शन बोके किन बोकेनन् जय नेपाल ?

बिल्ला लाग्ने डरले पैले उनी पनि डराएकै हुन्
सलाम ठोक्न लाए किन ठोकेनन् जय नेपाल ?

कसैको यो पेवा होइन छाती ठोकी हामी भन्छौं
राष्ट्रभक्त नेपाली सबले ठोक्नेछन् जय नेपाल

Thursday, September 19, 2019

के के ले सजाउँ ?

                                                     २०७६/०६/०१
पाखामा सजाउँ कि आँखामा सजाउँ
धनले सजाउँ कि मनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मुहार तिम्रो पूर्णेको जून जस्तो
यौवन तिम्रो अकबरे सून जस्तो
तूलमा सजाउँ कि फूलमा सजाउँ
सूनले सजाउँ कि जूनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मृग नयनी तिमि रेशमी केश छन्
तिम्रा सामु कुन अप्सरा शेष छन्
पारामा सजाउँ कि तारामा सजाउँ
चुराले सजाउँ कि कुराले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मयुरी चालमा बजेका मृदंग छन्
सुनकेस्रा ओठ तिम्रा सुकोमल अंग छन्
गहनामा सजाउँ कि चाहनामा सजाउँ
हातले सजाउँ कि मातले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

पाखामा सजाउँ कि आँखामा सजाउँ
धनले सजाउँ कि मनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

(सुवा - मनको मीत, मायालु,  सुनकेस्रा - सुन्तलाको चाना
बुझाउने गरी प्रयोग भएको, लोककथामा वर्णन गरिने
जुम्ली राजाकी अति सुन्दर रानी) 

Monday, September 16, 2019

रात परेपछि आउनु

                                                 २०७६/०५/२८
मन पैंचो दिउंला रात परेपछि आउनु
फाटेछ भने सिउंला रात परेपछि आउनु

अप्सरा हौ कि तिमि हौ कुनै मधुशाला
तिम्रै अधरले पिउंला रात परेपछि आउनु

रातमै खुल्छ क्यारे मीठो प्रेमको पाठशाला
अंगालोमा कसि दिउंला रात परेपछि आउनु

रित्ति सकेछ क्यारे हाम्रो प्रणयको भण्डार
बेसाहा गरेरै जिउंला रात परेपछि आउनु

प्रेमको अंगेनामा पकाई भावनाका परिकारहरु
प्रेमरसमा डुबाएर लिउंला रात परेपछि आउनु 

बोल्न सकेन

                                                   २०७६/०५/२८
बोल्न सकेन उसले मुख खोल्न सकेन
जिम्मा लियो तर कसैलाई पोल्न सकेन

लाला वाला अनि प्रेयसीलाई सम्झ्यो
राज सबै थाहा पाएपनि खोल्न सकेन

रानोको इशारामा झम्टिन (अरिंगाल) तयार थिए
थाहा पाएरै होला उसले विथोल्न सकेन

न आमा सुरक्षित यहां न त दिदीबहिनी
आफ्नै छोरी सम्झ्यो उसले गिजोल्न सकेन

शंख बजायो न उसले मशाल जलायो
सुनचाँदी संग ईमान पनि तोल्न सकेन

धूमकेतु बज्रिन्छ रे !

                                                       २०७६/०५/२८
खगोल शास्त्रीय अध्ययनले संकेत ग-यो
धूमकेतु पृथ्वी तर्फ सोझिएको छ
टक्रिने सम्भावना छ

प्रमुख सन्चार माध्यमहरुरको मुख्य समाचार  बन्यो
अलि तोडियो केही मोडियो

त्रिकालदर्शी काली बाबा गर्जे
प्रलय हुन्छ
वनदेवी माताले भनिन्
तहस नहस हुन्छ
पृथ्वीको आयु समाप्त हुने भयो
सुगाले पनि सोही खाम छान्यो

सरकारी आह्वान भयो
धैर्य धारण गर्नु

सबै मान्छे स्तब्ध र त्रसित
सबै सशंकित र हतारमा
एक आपसमा पनि बोल्दैनन्
शुरू गरेका काम सकाउने चटारो
बजार भरी डढेलो लागेसरी हल्ला छ
केही दिनमै धूमकेतु आइपुग्छ रे !

लेकमा खर्क स्याहार्ने ठागु
वेशीको खेत चाहार्ने माइला
लाहुर गएका गजे र दोर्जे
खाडीका चन्द्रे र काली
अमेरिका पुगेका सैम र डलि
सबै यो हल्लाले अत्तालिएका छन्
सबै आफ्नो परिवारमा एकत्र हुन आतुर छन्
हप्ता दिनमै धूमकेतु ठोक्किन्छ रे !

भर्खरै प्रेम विवाह गरेर डिपेन्डेन्सी भिसा लागेकि चमेली
आज मात्रै आमा बुवा भएका रामसीता र जन्मेको बालक
लोकसेवा पास गरी नियुक्ति पत्र लिएका शम्भूनाथ
चुनाव जितेर मन्त्री हुने दौडमा रहेका बिरजु दादा
नाम निकालेका छात्रवृत्ति पर्खेका डक्टर र इन्जीनियर
सबैको सपनामा तुषारापात हुने भयो
भोलीनै धूमकेतु बज्रिन्छ रे !

जता हे-यो उतै घुइंचो
सबै अस्त व्यस्त
फर्कने जहाजको टिकट पाउन मुश्किल
बसहरु खचाखच
पुल पुलेसा सडक सबैतिर
ट्राफिक जाम

फर्कने जहाजको पांग्रा निस्केन
लाहुरेहरुले विदा पाएनन्
ठागु र माइला बाढीपहिरोमा परे
शहर बजारमा भागदौड मच्चियो
कति लुटिए कति मारिए
कति बलात्कृत भए
आतंकले राज ग-यो

कति परिवारमा एकत्र भए
कति अलपत्र परे

एकत्र परिवारजनले रुंदै अंकमाल गरे
डर मिश्रित खुशी व्यक्त गरे
एकत्र हुन नसकेका परिवारजनको सम्झना गरे
र सामूहिक प्रार्थना गरे
सबैले संगै अन्तिम भोज गरे
आज रातीनै धूमकेतु बज्रिन्छ रे !

दु:ख सुखका कुरा गरे
गल्तीका लागी क्षमा मागे र दिए
आफ्ना पाप कर्मको फेहरिस्त लगाए
ईश्वरलाई साक्षी राखी सबैको सामुन्ने
गल्ती स्वीकार गरे
आत्मालोचना र आत्मग्लानी गरे
सबै खुलस्त भए र हल्का महसूस गरे
सबले एक अर्कालाई राम्ररी चिने
केही बेरमै धूमकेतु बज्रिन्छ रे !

कति नाता सत्य रहेनछन्
कति आफ्ना आफ्ना रहेनछन्
कति अपरिचित पनि आफ्ना रहेछन्
अनुहार मिले पनि साइनो कायम नभएका
अनुहार नमिले पनि सहोदर रहेछन्
सबै धूमकेतुको पर्खाइमा छन्
कुन बेला बज्रिन्छ र तहस नहस हुन्छ पृथ्वी
सबैको स्वीकारोक्ती पश्चात धेरैले मनमनै प्रार्थना गरे
हे भगवान ! त्रिकालदर्शी काली बाबाको भविष्य वाणी सत्य होस

रात गयो बात गयो
तर केही भएन

धूमकेतु पृथ्वी नजिकैबाट गुज्र्यो
खगोल शास्त्रीहरू अचम्ममा परे
अध्ययन गलत भएकोमा
एक अर्कालाई बधाई दिए
सन्चार माध्यमहरुले शुभ समाचार दिए
सबैले भगवानलाई धन्यवाद दिए
र विजयी मुस्कान छोडे
सबै स्तब्ध त्रसित मान्छे
सबै पुन: सबल मान्छे बने

धूमकेतु बज्रेन हल्लामा सीमित रह्यो
तर, उक्त हल्लाले कैयौंको मस्तिष्क विस्फोट भयो
कैयौंको सुन्दर बगैंचामा धूमकेतु बज्र्यो
सबैले पुन: सुन्दर बगैंचा बनाउने वाचा गरे
तर, सबल मान्छेकै शैली र आदर्श अनुसरण गरे
तैपनि, बगैंचा सुन्दर र रंगीन हुने कल्पना समेत गरे
हल्ला मत्थर भयो धूमकेतु पनि हुन्छ भन्ने बिर्सिए
दुनिया यथावत चल्यो

कालान्तरमा फेरी एक दिन
पुन: धूमकेतु पृथ्वी तर्फ सोझियो
मान्छेको संसार पुन: पहिले जस्तै स्तब्ध भयो
तर, मान्छे बाहेकको संसार यथावत
आफ्नो दिनचर्यामा तल्लीन रह्यो

धूमकेतु पृथ्वीमै बज्रिन्छ रे !

(पृथ्वी बाट चन्द्रमाको उत्पत्ति र तत्पश्चात डायनोसोरको
लोप जस्ता प्रलयंकारी घटनाहरु विशाल धूमकेतुहरु
पृथ्वीमा टक्रे पछि भएका हुन्)

धूमकेतु

                                                  २०७६/०५/२८
झरेको छ तारा कहिं धूमकेतु त होइन?
संसारै त्रस्त छ कहिं धूमकेतु त होइन?

देशभक्त त्यागी उनी ठूला नेता हुन रे
ज्यूंदो नक्षत्र भन्छन् कहिं राहु केतु त होइन?

भूंडी ठूलो छ तिनी बडा हाकिम हुन् रे
अड्डामै भनौंला कहिं घूसकेतु त होइन?

कुरा ठूला छन् दर्शन पनि ठूलो छ
तथास्तु भनेकाछन् कहिं फूसकेतु त होइन?

मीठो छ बोली रसिलो छ व्यवहार
तीरै नजरको छ कहिं रूपकेतु त होइन?

(पृथ्वी बाट चन्द्रमाको उत्पत्ति र तत्पश्चात डायनोसोरको
लोप जस्ता प्रलयंकारी घटनाहरु विशाल धूमकेतुहरु
पृथ्वीमा टक्रे पछि भएका हुन्) 

Friday, September 13, 2019

चानो आफ्नो बन्छ

(सम्पूर्ण सैनिक/ सुरक्षाकर्मीहरु लाई समर्पित)
                                                         २०७६/०५/२६
तानो मानो सरकारी चानो आफ्नो बन्छ
दु:ख जिलो गरे पछि दानो आफ्नो बन्छ

अनुशासन वफादारी देखाउँ देशभक्ति
उन्नति र प्रगतिको पानो आफ्नो बन्छ

ज्यानको बाजी लाउनु पर्छ धोका दिनु हुन्न
बूट जोडले बजारेछि रानो आफ्नो बन्छ

देश जनताको सुरक्षा नै एक मूल मन्त्र
त्यस पछि सुरक्षित घर सानो आफ्नो बन्छ

छानी छानी गिंड्नु पर्छ गोली ठोक्नु पर्छ
आफु सबल भए शत्रु कानो आफ्नो बन्छ

(तानो - कपडा, मानो - खाना, चानो - निधार,भाग्य,
दानो - पारिवारिक भरण, पोषण, पानो - अभिलेख,
रानो - नेतृत्व, कानो - काम नलाग्ने, कमजोर)

Thursday, September 12, 2019

हतार नगर सानी

                                                           २०७६/०५/२६
ढोका नलाई वत्ती निभाउन हतार नगर सानी
मात्तिएं म ओछ्यान मिलाउन हतार नगर सानी

बीसौं वर्ष लाग्न सक्छ दूध पानी छुट्टयाउन
पहिलो भेटमै धीत मराउन हतार नगर सानी

रस चाख्दै भुन भुनाउने जाली भमरा हो
लट्ठ परी मग मगाउन हतार नगर सानी

व्यापारी हो सपनाको ललाई फकाई गर्ला
सो-ह श्रृंगार सजाउन हतार नगर सानी

श्रृजनाको फूल फुल्ने रितु आ को छैन
छोरो पेटमै कन्दनी समाउन हतार नगर सानी

Monday, September 9, 2019

एउटै गति

                                                 २०७६/०५/२३
प्रकाश होस कि चञ्चल मनको एउटै गति
असी कटे पछि तन तनको एउटै गति

कोही रोडपति त कोही करोड़पति हुन्छन्
भुंइचालो झुल्के पछि जन जनको एउटै गति

कल कल झरना वग्ने हराभरा उपवन हुने
उजाड भए पछि वन वनको एउटै गति

मायामा उडीरहुं प्रेममा डुबीरहुं लाग्ने
विरक्त लागे पछि मन मनको एउटै गति

सात सुरको सुरीलो संगीत हुन्छ भन्छन्
बहिरो भए पछि सबै छम छमको एउटै गति

दमदार हुनु पर्छ

                                                   २०७६/०५/२२
भाषण जस्तो भए पनि ताली दमदार हुनु पर्छ
उसलाई उसले  गर्ने गाली दमदार हुनु पर्छ

उम्मेदवार तगड़ा छन् भीडन्त जोडदार हुनु पर्छ
आफ्नालाई मात्र छिराउने जाली दमदार हुनु पर्छ

सत्यको सिंगौरी होइन लडाई आरपार हुनु पर्छ
झूटकै खेती गरे पनि बाली दमदार हुनु पर्छ

दोष व्यर्थै नलाउ साथी तिमि ईमानदार हुनु पर्छ
व्यापार इमानकै भए पनि थाली दमदार हुनु पर्छ

गुदी जस्तो भए पनि बोक्रा चमकदार हुनु पर्छ
बोली वचन जे भए नि काली दमदार हुनु पर्छ


सिकाएनौ गुरू बा

                                         २०७६/०५/२२
छली ढांटी चोरी गर्न सिकाएनौ गुरू बा
ईमान जमान तल पर्न सिकाएनौ गुरू बा

जन सेवा देशभक्ति यही मूल मंत्र भन्यौ
आफ्नो लागी भाई मार्न सिकाएनौ गुरू बा

जाली झेली माथी जाने सोझा हे-या हे-यै
छेपारो झैं रंग फेर्न सिकाएनौ गुरू बा

सत्यवादी ईमानदारलाई नरुचाउने रैछन्
छिन छिनमा बोली बेर्न सिकाएनौ गुरू बा

सफल हुन नसके नि असल हुनु भन्थयौ
अंगालोको साथी सेर्न सिकाएनौ गुरू बा

Saturday, September 7, 2019

मुक्तक हरु

                                            २०७६/०५/२१
१. कति मौका नपाएर ईमानदार बने ?
    कति चौका नआएर ईमानदार बने ?
    सकुनि चाल त सबै चल्न खोज्छन् हजुर
    कति कपटि पासा नपाएर ईमानदार बने ?

२. बलेको होइन गलेकोलाई उठा
    चलेको होइन जलेकोलाई उठा
    तरवार त कायरले पो उठाउँछन् बाबु
    सक्छस भने नजरमा ढलेकोलाई उठा

३. कुकुर भुकेका छन् बिस्तारै आउनु
    नजर झुकेका छन् बिस्तारै आउनु
    सास रोकेर तिमिलाई कुरीरहेको छु
    यमदूत ढुकेका छन् बिस्तारै आउनु

                                             २०७६/०६/१२
४. ढक ढक गरे द्वारमा तिमिले खोलिनौ
    चिच्याए कराए बेकारमा तिमिले खोलिनौ
    प्रेमबुटी स्नेहलेप थियो तिम्रोलागी सौगातमा
    त्यो सबै बिक्यो भरमारमा तिमिले खोलिनौ

                                            २०७६/०६/१३
५. सुख समृद्धि बढोस हाम्रो दशैंमा
    कसैका लागी नबनोस चाम्रो दशैंमा
    शुभकामना उल्लासमय जीवनको
    मान्नेजति सबैको होस राम्रो दशैंमा
                                           २०७७/०६/२२
६. जन्मेको घर आफ्नो छाड्न छन् बाध्य बहिनी 
    लुकाउन दु:ख आफ्नो सिपालु छन् असाध्य बहिनी 
    आधा धरती आधा आकाश कि स्वामिनी तिमी 
    हरेक समस्या समाधान कि छन् साध्य बहिनी 


Thursday, September 5, 2019

भरम

                                  २०७६/०५/१७
भरम हो भरम हो भरम हो
यो जिन्दगानी एउटा भरम हो

आलो पालो गर्नु पर्ने
ऐंचो पैंचो तिर्नु पर्ने
गर्नु पर्ने तिर्नु पर्ने
यो जिन्दगानी एउटा परम हो
परम हो परम हो परम हो
यो जिन्दगानी एउटा भरम हो

दिन रात खट्नु पर्ने
मरी मेटी जुट्नु पर्ने
खट्नु पर्ने जुट्नु पर्ने
यो जिन्दगानी एउटा करम हो
करम हो करम हो करम हो
यो जिन्दगानी एउटा भरम हो

सफल मात्रै हुनु पर्ने
नाफा मात्रै लिनु पर्ने
हुनु पर्ने लिनु पर्ने
यो जिन्दगानी एउटा चरम हो
चरम हो चरम हो चरम हो
यो जिन्दगानी एउटा भरम हो

आफु पहिलो हुनै पर्ने
जीत आफ्नो हुनै पर्ने
हुनै पर्ने हुनै पर्ने
यो जिन्दगानी एउटा जरम हो
जरम हो जरम हो जरम हो
यो जिन्दगानी एउटा भरम हो

भरम हो भरम हो भरम हो
यो जिन्दगानी एउटा भरम हो

(भरम - भ्रम,  करम - कर्म,  परम - पर्म, श्रम साटासाट
चरम - नकारात्मक सीमा, अति   जरम - अपराध, जन्म)

Monday, September 2, 2019

क्षमा याचना

                                                            २०७६ भाद्र १६

"ले बहादुर मलुली (न अमिलिएको) छाँच (मोइ)कि मैरी खा... , मेरो नाना..., मेरो कुत्त्या..., (नाना, कुत्त्या -प्रिय बच्चा लाई बोलाउने शब्द)" मेरी आमा (इजा) का ममतामयी शब्दहरु मेरालागी असह्य हुन्थे र म त्यो खाना लाई टाढा हुर्याईिदन्थे किनकी मलाई मैरी (मोइमा पकाईएको भात) उतिसारो मन पर्दैनथ्यो ।

त्यस्तो छुद्र र असह्य ब्यबहार गर्दा पनि आमाको मायामा कुनैकमी आउथेन र केही समय पछी फेरी भैंसीको सुद्ध दूधमा पाकेका केरा मुछेर दिदै भन्नु हुन्थ्यो " मैरी त नाइ खाएइ रे दूध ओल्या केला खा पुइ" (मैरी त खाइनस तर दूध मा मुछेका केरा त खाइ दे) त्यस पछी मैले मेरी आमामा उपकार गरे जस्तैगरी खान्थे तर दूधमा मुछेका केरा वास्तव मै धेरै स्वादिष्ट हुन्थे । चाड पर्वहरुमा अतिनै स्वादिष्ट माँडा (चामलको पिठो लाई लेदो जस्तैबनाई घ्यु हालेर तावामा पकाइने बहुतले रोटी) पकाएर दिनुहुन्थ्यो र म मीठो मानी मानी खान्थे । आज भन्दा ४० - ४५ वर्ष अघी उपर्युक्त परीकारहरु म हुर्केको ठाउँ महेन्द्रनगर मा विशेषरूपले प्रचलित थिए र राम्रो खानगीको बर्गमा पर्दथे यद्धपी ती परिकारहरु मेरा लागी नौला थिएनन् ।

स्वाभाविक बाल सुलभ ब्यबहार कै कारणले होला मैले मेरी आमाको अमूल्य ममतामयी अनुरोध हरुको अबहेलना गरेको । अहिले सम्झिदा मैले आफै लाई धिक्कार गर्न मन लाग्छ र आमाको ममतालाई बुझ्न नसकेकोमा पछुतो पनि लाग्छ । कहिलेकींहि एक्लै बसेको बेला उक्त कुरा सम्झिदा मन मुटुनै भक्कानिएर आउछ र डाँको छोडेर रुने मन लाग्छ ।

मैले किन बुझिन आमाको मायाको ओज, मैले किन लत्त्याए होला त्यस्ता खानेकुराहरु । अहिले म सम्पूर्ण भक्तिभावका साथ साष्टांग दन्डवत गरी माफी माग्न चाहन्छु । मैले नजानिकनै हजुरको ममतामयी मुटु दुखाए । म अहिले तिनै खानेकुराहरु हजुरकै हातबाट खान चाहन्छु । हे भगवान सम्भव छ भने मेरो बालापन फर्काइ दे, मलाई मेरी आमा को हातबाट सबै खानेकुराहरु मीठो मानी मानी खाने मन लागेको छ ।

जीवन निर्वाह गर्ने बाध्यताको कारणले मैले आमाको छत्र छाया बाट टाढा रहनु परेको छ | कैले काहि आमाको सामीप्य पाउन र आशीर्वाद लिन जाँदा मेरो रुची अनुसार "बहादुर त माँडा निका माडन्छ" बहादुर (म) लाई माँडा मन पर्छ भनी जसरी भए पनि मेरो लागी माँडा पकाउनु हुन्छ र म ती माँडा का हरेक गाँसमा आमाको मायाको स्वाद महसूस गर्दै खाने गर्छु तथा पल पल आमाको ममता बाट बन्चित हुनुपरेकोमा आफ्नो भाग्यलाई सराप्दै दुःखको घुड्को संगै निल्ने गर्दछु | यो जिन्दगानीको भाग दौडमा भाग्यमानी व्यक्तिहरूले मात्र आमाको ममतामयी छहारीमुनी रही सेवा गर्ने अवसर पाउँछन् र म यो मामलामा मेरो भाई समर जंग बहादुर चन्दलाई भाग्यशाली ठान्दछु | उसले निस्वार्थ भावनाले आमा बुवाको सेवा गर्ने अवसर प्राप्त गरेको छ उसलाई मेरो तर्फ बाट धन्यवाद तथा आशीर्वाद छ | मलाई विश्वास छ उसले आमालाई मेरो कमी महसूस हुन दिने छैन |  हार्दिक आभार |

मैले कतिपय अवस्थामा अज्ञानतावस र कतिपय अवस्थामा बच्चैदेखी लागेको बानीको कारणले आमाको मायाको अवमुल्यन गरेको महसुस गरेको छु जसका लागी म मेरी अतीनै प्रिय, पूजनीय, ममतामयी आमा(ईजा) सँग क्षमा याचना गर्न चाहन्छु मलाई विश्वाश छ मेरी आमाले मलाई अवस्य क्षमा गरी दिनुहुनेछ ।

आफ्ना प्रिय सन्तानहरु लाई बोलाँउदा कसैले नाना, कुत्त्या जस्ता शब्द प्रयोग गरी बोलाएको देख्दा मेरी आमालेनै मलाई बोलाएको हो कि भन्ने भान हुन्छ । आज भन्दा ४० - ४५ वर्ष अगाडी सुद्ध दूध, सत् प्रतिशत अर्ग्यानिक (हाल धेरै प्रचलित शब्द) केरा, स्वादिलो शुद्ध मोइ, अर्ग्यानिक चामल (कुनैपनि विषादी र रसायनिक मल प्रयोग नगरिएको तथा ढिकिमा कुटिएको पोषणयुक्त) र दाउरामा पकाएको मैरी त्यस्तै अर्ग्यानिक चामलको पिठो, बास्नादार साथै दानादार घ्युमा पकाइएका माँडा पाउनु यो शहरीया जीवनमा कती नै संभव होला र ? तर मैले मेरी आमालाई भेट्न मात्र पाउनु पर्छ मेरी आमाले उक्त सबै खानेकुराहरु आमाको ममतामा मुछेर मायाको न्यानोपनले सेकेर पकाउन सक्नुहुन्छ । मेरी आमाले पस्कने खानाको तुलना शहरका 5G Kids हरुले गूगल गर्दै खोजेका रेस्टुरेन्ट र घरमै डेलिभरी गर्ने डेमलभरी ब्वायले ल्याउने पिज्जा, बर्गर र हट डग सँग कदापी हुन सक्दैन ।

मेरी आमा(ईजा) हजुरको ममता र आशीर्वाद मेरालागी सदैव रहीरहोस ।

Saturday, August 31, 2019

भन दिलमा के छ?

                                                     २०७६/५/१३
आज धेरै मस्केकि छ्यौ भन दिलमा के छ?
छिन छिनमा झस्केकि छ्यौ भन दिलमा के छ?

आँखा तिम्रा ढलपल ढलपल आवाज पनि भारी
पैले भन्दा खस्केकि छ्यौ भन दिलमा के छ?

छिनमै हाँस्छ्यौ छिनमै रुन्छ्यौ छिनमै कराउँछ्यौ नि
बोली वचन फुस्केकि छ्यौ भन दिलमा के छ?

वारी हुंदा पारी जान्छ्यौ लेक जांदा वेशी
लुसुक लुसुक लुस्केकि छ्यौ भन दिलमा के छ?

दुई हात जोडी विन्ती गरेँ ढक्क फुलेकि छ्यौ
कुन्नी किन ठुस्केकि छ्यौ भन दिलमा के छ? 

Wednesday, August 28, 2019

पत्तै भएन

                                                        २०७६/०५/११
कैले बालपन वित्यो जवानी कैले पत्तै भएन
आई सकेछ काल सिरानीमा कैले पत्तै भएन

गर्ने मन थियो उनीसंग पेटभरि मनका कुरा
उम्कि सकेछ राम्रो साइत उहिले पत्तै भएन

काम कति थिए शुरू गर्न कति पुरा गर्न
गोधूलि सांझ ढली सकेछ पैले पत्तै भएन

साहु जति सबै आए भेट्ने बहाना गरी
तिर्ने वचन दिएको रैछु मैले पत्तै भएन

कोशिश जति गयो खेर जोगाउन ज्युने दियो
रित्याइ सकेछ सबै तेल उसैले पत्तै भएन

Tuesday, August 27, 2019

अचम्म

                                                    २०७६/०५/१०
दु:ख गरे दह्रो हुन्छ सुख गरे दुख्छ
कुकुर चांहि लमक लमक हात्ती किन भुक्छ?

आकाशको जून पनि बिना बादल लुक्छ
कुवामा छ ज्वारभाटा सागर किन चुप छ?

फलेको रुख ठाडो छ रे नफलेको झुक्छ
सधैं अचूक मेरो तारो आज किन चुक्छ?

रामनामी साधु पनि बिहान देखि धुक्छ
कोठा भरी सुगन्ध छ लिखे किन थुक्छ?

डांडा कांडा हिन्ने मान्छे कालोपत्रे फुक्छ
हूलका हूल केटालाई केटीले पो ढुक्छ

म कविता लेख्छु

                                                   २०७६/०५/१०
उनले आँखा फिराए म कविता लेख्छु
आँखा बाट गिराए म कविता लेख्छु

मायाको डोरी तान्ने वल गरेकै छु
असत्तीले पिराए म कविता लेख्छु

हरेक दिन सगरमाथा चढीरहेकै छु
चीसोले ठिराए म कविता लेख्छु

कुरूक्षेत्रमा गाण्डीव मैले तानेकै छु
कृष्णले विराए म कविता लेख्छु

राजा हुने दौडमा सामेल भएकै छु
सिंहासनले चिढाए म कविता लेख्छु

Monday, August 26, 2019

हिसाब किताब

                                 २०७६/०५/०६

दुईमा दुई जोडिए चार हुन्छ
दुईले दुई घटाए समाचार हुन्छ

दुईले दुई गुणन गरे चार हुन्छ
दुईले हात समाए घरबार हुन्छ

दुईले सताए अत्याचार हुन्छ
दुईले चिन्तन गरे बिचार हुन्छ

दुईले एकलाई कुटे अचार हुन्छ
दुईले दुईलाई सघाए लोकाचार हुन्छ

दुईले दुईलाई सुनाए प्रचार हुन्छ
दुईले दुईलाई जनाए सञ्चार हुन्छ

दुईले घमण्ड गरे मिथ्याचार हुन्छ
दुईले अपराध गरे व्यभिचार हुन्छ

दुईले सुटुक्क हेरे आँखाचार हुन्छ
दुईले मन नपराए तिरस्कार हुन्छ

दुईले आँखा चिम्ले अन्धकार हुन्छ
दुईले समर्थन गरे सरकार हुन्छ

दुईले टन्न खाए डकार हुन्छ
दुईले गाली खाए हकार हुन्छ

दुईले सुधार गरे परिष्कार हुन्छ
दुईले कराए चीत्कार हुन्छ

दुई अनुशासित भए संस्कार हुन्छ
दुई विभाजित भए बहिष्कार हुन्छ

दुईलाई जिते पुरस्कार हुन्छ
दुई हात जोडे नमस्कार हुन्छ 

पर्खाई

                                            २०७६/०५/०९
सास रहुञ्जेल सम्म तिम्रो सन्देश पर्खें
चाँडै नउठाऊन भनी तिम्रो आदेश पर्खें

शोकमग्न मलामीहरु संग हार गुहार गर्दै
चाँडै नजलाऊन भनी तिम्रो समादेश पर्खें

कसैले हेर्दा पनि मेरो मुटु जल्छ भन्थ्यौ
खरानी हुँदा सम्म तिम्रो आवेश पर्खें

ज्वाला शान्त भयो मेरो चिता सेलायो
जलेको मुटु संगालून भनी परमादेश पर्खें

भरिएर घडामा शान्त छु कुनामा
लान्छौ कि घुमाउन भनी अनिमेष पर्खें 

Friday, August 23, 2019

बाँकि छ

                                       २०७६/०५/०६
छोटो जिन्दगीको हर हिसाब बाँकि छ
तिम्रो मेरो पनि हर हिसाब बाँकि छ

तिमिलाई लाग्योहोला बादल फाटि सक्यो
मुटुको दरार हेर मनमुटाव बाँकि छ

जे भन्नु थियो तिमिले भनि सक्यौ होइन
मन थामेर सुन मेरो सुझाव बाँकि छ

न आत्तिनु जाबो बोतल रित्तियो भनेर
मधुशालामा हेर शराब बाँकि छ

धेरै भएको छैन तूफान शान्त भएको
बाहिर निस्केर हेर बहाव बाँकि छ

धेरै खुशी नहुनु नयाँ युग आयो भनी
आकाश तर्फ हेर टकराव बाँकि छ

घाँटी नहेरी तिमिले हाड मात्र निल्यौ
आफ्नै थालीमा हेर कबाब बाँकि छ

महाभारतको तयारी पुरा भयो भन्थ्यौ
भण्डारमा हेर असबाब बाँकि छ

तिमिले प्रेम प्रस्ताव पठाएर मात्र हुन्न
पर्खी हेर आउने जबाब बाँकि छ

Wednesday, August 21, 2019

कुन छ?

                                  २०७६/०५/०४

उसको खानामा पनि नून छ
त्यसको पसिनामा पनि नून छ

भन्सार बाट मात्र आउने होइन
उसको धनसारमा पनि सुन छ

उसको तेल मालिसमा मात्र होइन
त्यसको बूट पालिसमा पनि गुन छ

उसलाई बचाउदा मात्र चाहिने होइन
त्ससलाई मार्दा निस्कने पनि खून छ

आकाशमा मात्र उदाउने होइन
दुइ छाक टार्न चाहिने पनि  जून छ

मान्छेमा हराउँदै गएको छ भन्छन्
आत्मा हराएको जन्तु पनि कुन छ?

Tuesday, August 20, 2019

थोरै माया

                           २०७६/०५/०३

साँचो भए देउ न "सुवा" थोरै माया
मनकि रानी मलाई दिनु कोरै माया

देखाउन सकिन होला सपनाका महल हरु
छाती चिरी हेर्नु दिलको खोरै माया

दुख्यो होला तिम्रो मन मेरो बेहोशीले
योमन छामे हात लाग्ला अघोरै माया

पानी बिना माछा सरि तडपेको छ यो मन
हुन्थो होला शीतल तिमिले दिए थोरै माया

छिन छिनमै नमाग प्यारी प्रेमको प्रमाण
बसिसक्यो अटुटगरी तिमिसंग पोरै माया

साँचो भए देउ न "सुवा" थोरै माया
मनकि रानी मलाई दिनु कोरै माया 

दृश्य बदलिन्छ

                                            २०७६/०५/०२

दिन भरि डमडम डमडम रातमा ताल बदलिन्छ
छिन् छिन् मा मौषमको यहाँ हर हाल बदलिन्छ

खुशी थिए सबै त्यहाँ रंग विरंगी माहौल थियो
जब आए वहांहरु त्यहाँ सबको चाल बदलिन्छ

नियम न कानूनले हुन्छ भन्थे सबले त्यहाँ
क्षण भरमै हुने भयो जब सुनको थाल बदलिन्छ

पक्रिन सकेन उसले सुनौलो त्यो ठूलो माछा
गा-हो छ रे भन्छन् जबसम्म जाल बदलिन्छ

तँ पनि चनाखो नभई भएन "सुमन"
अचम्म छ यहाँ त इशारामा काल बदलिन्छ

Tuesday, August 13, 2019

बेसहारा भगवान

                               २०७६\०४\२४
बुझिनौ प्यारी शायद अझैछौ अन्जान
तिम्रो लागी बेसहारा भएछन् भगवान - २

छिया छिया हुन्छ मुटु कलेजो चिरिन्छ
ढलपल आँखा नलाउ यता आत्मा नै रेटिन्छ
दोषी पो हुँ कि शायद हो त्यही विधान
तिम्रो लागी बेसहारा भएछन् भगवान

बुझिनौ प्यारी शायद अझैछौ अन्जान
तिम्रो लागी बेसहारा भएछन् भगवान

भाविनी तैंले पनि अपराधै गरीछस
खुशीहरु सबै मेरा सहजै हरीछस
सजाय पो हो कि शायद हो त्यही फरमान
तिम्रो लागी बेसहारा भएछन् भगवान

बुझिनौ प्यारी शायद अझैछौ अन्जान
तिम्रो लागी बेसहारा भएछन् भगवान

मन्दिर धाउँदा पुजारीले गरेछन् बदनाम
भक्तजनले देख्दा देख्दै भनेछन् गुमनाम
समय मलम हो शायद हो त्यही बलवान
तिम्रो लागी बेसहारा भएछन् भगवान

बुझिनौ प्यारी शायद अझैछौ अन्जान
तिम्रो लागी बेसहारा भएछन् भगवान - २

Monday, July 1, 2019

याद छ र?

                                             २०७६/०३/१६

उकाली कटे हुन् कति ओराली कति याद छ र?
चाल आज सम्म चाल्यौ कति याद छ र?

घायल भई तड्पिए कति हुन् मरे हुन् कति
झुटो कसम खान थाल्यौ कति याद छ र?

दाह्रा किटी पागल सबैले तिम्रो नाम लिन्छन्
मन कतिका मुटु जलाएर फाल्यौ कति याद छ र?

सुनैको छ महल तिम्रो मन मुटु पनि सुनैको
ढुकुटी क-कसको नियाल्यौ कति याद छ र?

जलेको मुटु बोकी 'सुमन' आएथ्यो याद छ र?
त्यही मुटु जोखेर मोल्यौ कति याद छ र? 

Saturday, June 29, 2019

धोकेबाज परेवा

                                           २०७६/०३/१४

परेवाको जस्तै प्रेम
परेवाको जस्तै जोडी
कस्तो कर्णप्रिय लवज, तर...

परेवा पनि धोकेबाज हुंदारहेछन्
मैले प्रत्यक्ष देखेको छु
म त्यसको साक्षी छु

परेवाको जोडी हुर्कदै थियो
प्रेमको पखेटा लाग्दै थियो
वातावरण प्रेममय हुंदै गयो
प्रेमाकाशमा प्रेमजोडी
परेवाको जस्तै जोडी
कहिले अनन्त आकाशमा बिलाउंथे
कहिले बादल सँग लुकामारी खेल्थे
आफ्नै आकाश थियो
आफ्नै संसार थियो
आफ्नै कल्पनाको प्रेम सागर थियो
त्यही सागरमा प्रेम डुबुल्कि लगाउंथे
सर्वत्र प्रेम थियो
सर्वत्र प्रेमजोडी थियो
परेवाको जस्तै प्रेम
परेवाको जस्तै जोडी, प्रेमजोडी

प्रेम फक्रंदै गयो
प्रेमाश्रय आवश्यक भयो
र एउटा सुन्दर प्रेम गुंड बनाए ती प्रेमजोडीले
प्रेम निशानी स्वरुप
प्रेम अण्ड पलाए
प्रेम ओथारोमा समाहित भयो
प्रेम नकोरलिंदै कालो बादल मडारियो
संसाझै कालो कागले झम्ट्यो
कालरात्रिमा
प्रेमको संसार तहस नहस भयो
परेवा प्रेम खण्डित भयो
प्रेमी परेवा शहीद भयो

एकाबिहानै विक्षिप्त प्रेमिका
आफ्नो खण्डित प्रेमलाई सांच्दै गरेको देखापरिन्
भत्केको गुंडका सिन्काहरु मर्मत गर्न थालिन्
परेवाको प्रेम मरेको थिएन

त्यही दिन
खण्डित प्रेमकि प्रेमिकाले देखिन्
परेवाको अर्को नव जोडीले
त्यही रुखमा आफ्नो प्रेमिल संसार पाए
आफ्नो कल्पनाको प्रेम गुंड स्थापित गरे
उही भावना र उस्तै सपना
प्रेमाकाशमा कैयौं प्रेम डुबुल्कि लागे
यहाँ पनि, परेवाको जस्तै प्रेम थियो
परेवाको जस्तै जोडी थियो
प्रेमजोडी थियो

तर, सबै परेवाको प्रेम परेवाको जस्तो हुंदो रहेनछ
सबै परेवाको जोडी परेवाको जस्तो हुंदो रहेनछ
नव प्रेमी परेवाको मन भरिंदै आयो
नव प्रेमी परेवा खण्डित प्रेमकि प्रेमिका तर्फ लहसियो
नव जोडीमा खटपट शुरू भयो
नव प्रेमी परेवाले हठात् सम्बन्ध तोड्यो
र खण्डित प्रेमिका समक्ष प्रेम प्रस्ताव राख्यो
आफ्नो पुरानो सम्बन्ध पूर्णरूपमा विच्छेद भएको प्रमाण पेश गर्यो
नव प्रेमीको प्रेमहठ समक्ष
खण्डित प्रेमिका पग्लिइन
र आफुलाई समर्पित गरिन्

नव प्रेमिकाको मुटु विस्फोट भयो
तर, उक्त आवाज ऊ बाहेक कसैले सुनेन
आफ्नो प्रेम कायम राख्न प्रयास नगरेकि होइनन्
तर, धोकेबाज परेवाले उक्त प्रेमको मूल्य बुझेन
र प्रेम नफक्रिंदै वली चढ्यो
नव प्रेमिका, परेवाको जस्तो प्रेमको खोजीमा अलप भइन्

सबै परेवाको जोडी परेवाको जस्तै जोडी हुंदैनन्
सबै परेवाको प्रेम परेवाको जस्तै प्रेम हुंदैन
परेवा पनि धोकेबाज हुंदारहेछन्
परेवा पनि नि:स्वार्थ प्रेमका भोका हुंदारहेछन्

तर, परेवा मान्छे जस्ता हुंदारहेनछन्
सम्बन्ध विच्छेद नगरी अर्को सम्बन्ध गांस्दारहेनछन्

(दुई जोडी परेवा पालनको क्रममा रचनाकारले देखेको सत्य घटनामा आधारित रचना) 

Wednesday, June 26, 2019

यात्रा

                                               २०७६/०३/११

यात्राको संघर्ष
मेरो अर्ध जीवन बाटै शुरू भयो
जब म धकेलिएं सम्पूर्णताको होडमा
करोडौंको भीड थियो तर एक्लो थिएं म
गन्तव्य थाहा थिएन रनभुल्ल थिएं म
कसैले मलाई बिस्तारै थपथपायो मुग्ध भएं म
न्यानो अंगालोमा बेर्यो र सम्पूर्णताको सास फेर्यो
करीब नौ महीने यात्राको सहयात्री बनायो
पृथ्वी भन्ने पहिलो बिसौनी आयो
कैयौं यात्रु ओर्ले कैयौं यात्रु उक्ले
यात्रा निरन्तर चलिरह्यो

धुमिल चेतना साकार हुंदै गयो
मलाई संघर्षमा प्रेरित गर्ने बुवा थिए
पूर्णता दिने ममतामयी आमाले बताइन्
म आमा बुवाको सहयात्री बनें
दोश्रो बिसौनी आउनु पूर्व
दाजुभाई, दिदीबहिनी र ईष्टमित्र पनि देखें
म यात्री घोषित भएं अरुसबै मेरा सहयात्री कहलिए
दोश्रो बिसौनी आयो
कैयौं चढे झरे
यात्रा निरन्तर चलिरह्यो

आफ्नो समूह सहित मुस्कुराउदै झुल्किइन उनी
मेरी सहयात्री बनिन्
र श्रीमती हूं भनिन्
यसैबीच तेश्रो बिसौनी आयो
कैयौं घटे बढे
यात्रा रोकिएन
निरन्तर चलिरह्यो

चन्चल परीहरु देखापरे
मैले मायालु नजरले हेरेको मात्र के थिए
बाबा भन्दै मलाई अंगालो मार्न आइपुगिन्
मेरी छोरीहरु
भेटिए थुप्रै नव युवा युवतीहरु
पुराना अनुहार घट्दैगएको र
नयां अनुहार थपिंदैगएको महसूस भयो
चौथो बिसौनी पनि आइपुगेछ
चढ्ने झर्ने क्रम दोहोरियो
को को चढे झरे पत्तै भएन
तैपनि यात्रा निरन्तर चलिरह्यो

हठात्, मैले सम्झे
मलाई यात्रामा सामेल गराउने बा आमालाई
नजर चारैतर्फ दौडाएं
अहं, देख्दै देखिन
म वहाँहरुको सहयात्री थिएं
तर मैले वहांहरुलाई मेरा सहयात्री सम्झें
भीड़भाड़मा रेखदेख गर्न सकिन वा म बिर्सें
कहाँ कुन बिसौनीमा झरेछन् पत्तै भएन
दु:ख उच्छ्वास
बा आमाले समेत मलाई जनाउ दिएनन्
अर्को बिसौनी आइसकेछ
कैयौं चढ्ने झर्ने क्रम यथावत रह्यो
निरन्तर यात्रा चलिरह्यो

यात्राकै क्रममा पुगियो
नयां ठाउँ, नयां बोली, नौलो रहन सहन
नयां इशारा, नयां भाव, नौलो प्रसंग
छोरीहरुले घोषणा गरे
अब हामी यात्री हजुर सहयात्री
भीड़ बढदै गयो थकान महसूस भयो
फेरी आयो अर्को बिसौनी
आफुले नचाहदा नचाहदै
झर्ने यात्रुको हूलमा म पनि हुत्तिएं
चढ्ने यात्रु मलाई कुल्चदै बढे
यात्रा अगाड़ी बढीरह्यो

जब होश आयो
पृथ्वीमै हो वा अन्य कुनै लोक
सुनसान बिसौनीमा अलपत्र म
चकमन्न अन्धकारमा एक्लो म
उठ्न सक्छु न कसैलाई बोलाउन
मलाई थाहा छ
मलाई कोही भेट्न आउने छैन
मलाई पछुतो रहीरहने छ
मैले मेरा सहयात्रीहरुलाई धन्यवाद दिन सकेन
मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गरेकोमा

बा आमा छाडेर गए
श्रीमतीको अन्तिम चुम्बन छुट्यो
नाता गोता टाढिए
सहयात्री बाट यात्री र पुन: सहयात्री बनेको
म धकेलिएं र झारिएं
छोरीहरुको यात्रा अविरल चलिरहोस
विनती

मेरो यात्रा विशेष थियो
टिकट न जांचकी
चालक न गन्तव्य
आफुखुशी चढ्न न झर्न पाइने
कसैले चढाउंथ्यो र झार्थ्यो पनि
शायद उक्त यात्रा पूर्णतः स्वचालित थियो
कुनै अदृश्य शक्तिको निर्देशनमा
कसलाई कहां चढाउने र झार्ने
पूर्ण नियन्त्रण शायद उतै थियो

आज म नितान्त एक्लो छु
शायद भीड़भाड़मा पनि एक्लै थिएं
गन्तव्यहीन र दिशाहीन
मूकदर्शक यात्री म
निष्प्राण यात्री म

Tuesday, June 25, 2019

अन्याय

                                                      २०७६/०३/१०

भक्कानियो मुटु मेरो रक्ताँसु पिउनु पर्ने
चिरिएको कलेजोलाई लुकि लुकि सिउनु पर्ने

पूर्वकै हो दोष यो कि यो जन्म त याद छैन
आफ्नै मुटु तड्पिएको लुकाई पीडा जिउनु पर्ने

अन्जानमै गल्ती भए जस्तो सुकै सजाय पाउँ
आफ्नै मुटु टुक्र्याएको हेरी ओठ सिउनु पर्ने

तड्पिएको थाहा छैन टुक्रिएको थाहा छैन
निर्दोष मुटु खुशी हुँदा जलाई आत्मा रिउनु(रुनु) पर्ने

चाह भए तेरो मनमा न्याय भए तेरो घरमा
टुक्रिएको मेरो मुटु लगाई नौनी लिउनु पर्ने 

Friday, June 21, 2019

बात लागेन

                                                         २०७६/०३/०५

तिम्रै नजरको तीरले म मरें तिमिलाई कुनै बात लागेन
वैंशालु नशा भरपूर थियो तिमिलाई कुनै मात लागेन

तिम्रा खुशी खरीद गर्न सबै रहरहरु धितो राखें
चढाएं आफ्नै वली तिमिलाई कुनै सौगात लागेन

ज्वालामुखी विस्फोट भयो तहस नहस भयो ज़िन्दगी
चर्क्यो मेरै बिचरो मुटु तिमिलाई कुनै औकात लागेन

आंसुहरुको बाढी आयो प्यास बुझाउन मरुभूमिको
तड्पे कल्पे बरबाद भएं तिमिलाई फिका बरसात लागेन

आउने जाने सबले सोधे के भयो तिमिलाई "सुमन"
तिम्रै प्यारमा पागल भएं तिमिलाई सानो मुलाकात लागेन

Monday, June 3, 2019

जीवन खलाँती

                                                            2076/02/19

जिउने आगो फुक्दा फुक्दै भयो जीवन खलाँती
रुने आँखा सुक्दा सुक्दै भयो जीवन खलाँती

रोग दोष राजा देउता सके जति उपचार गरें
विशेक होला ढुक्दा ढुक्दै भयो जीवन खलाँती

छोरा छोरी नाता गोता ज्यू हजुर सलाम ढोगें
रहरहरु थुक्दा थुक्दै भयो जीवन खलाँती

तारा झार्न आकाश ताकी सांझ विहान दौडी रहें
गन्तव्यमा पुग्दा पुग्दै भयो जीवन खलाँती

भकुन्डो झैं सबले ठोके लात हातको सौगात पाएँ
लछ्यहरु चुक्दा चुक्दै भयो जीवन खलाँती

जीवनको रिन तिर्दा तिर्दै सकिएन आजित भएँ
देउता सामु झुक्दा झुक्दै भयो जीवन खलाँती

आफ्नो छाला काढी आफै बनाइदिएं खलाँती
त्यै खलाँती फुक्दा फुक्दै भयो जीवन खलाँती

Tuesday, April 30, 2019

म मरें

                               २०७६\०१\१८

जीवन बल्नकै लागी म मरें
मृत्यु छल्नकै लागी म मरें

तिम्रो मुस्कान छल्कि रहोस
नौनी मल्नकै लागी म मरें

खुशी उमंग फलोस फुलोस
दु:ख जल्नकै लागी म मरें

नाता साइनो कायम रहोस
शत्रु बदल्नकै लागी म मरें

यो माया अमर रहोस "सुवा"
म त "सुमन" गल्नकै लागी म मरें

Monday, April 29, 2019

जरूरी छैन

                                  २०७६\०१\१७

हामी मिले उनी खुशी होलान जरूरी छैन
तिम्रो मेरो चिना पनि मिल्नु जरूरी छैन

भुवा सरी कपास झैं मन उडे भयो
दुई चार बोतल ढल्नु जरूरी छैन

जीवन ज्यूनुको अर्थ भेटे भयो
ज्यू हजुरको पाउ मल्नु जरूरी छैन

एकआपसमा हाम्रो मन बुझे भयो
हाउभाउ र चालढाल बदल्नु जरूरी छैन

गर्विलो विजयी मुस्कान छर्न सके भयो
शत्रु महानको सेना गल्नु जरूरी छैन

Thursday, April 25, 2019

डर

                                                 २०७६\०१\०९

थिचिएर निस्सासिएको भासु भीरको ढुंगो म
कर्मी भगवानले भेटे देउता बनाइने डर छ

भेलले पछारिएको काली बगरको ढुंगो म
माझी दाइले पक्रे देउता बनाइने डर छ

ठक्करले लछारिएको छतरी चौराहको ढुंगो म
स्वामी बाबाले टेके देउता बनाइने डर छ

पींधमा घुसारिएको पंच देवलको ढुंगो म
बाल बुद्धले देखे देउता बनाइने डर छ

झ्याउ फिजारिएको धुराको अलपत्र देउता म
तीर्थालु भक्तले जपे फेरी देउता बनाइने डर छ

Friday, April 12, 2019

मन लाग्छ

विरक्तिएँ भने दुनिया छोड़ी जाँउ जाँउ मन लाग्छ
फुरूंगिएँ भने तोते बोली कराउं कराउं मन लाग्छ

एक एक गरी सबैले छाडी गई सके पछि
निर्दयी काल देखी डराउं डराउं मन लाग्छ

जाल झेल कपट र षड्यंत्र देखे पछि
मन वस्तीको घरबार पनि सराउं सराउं मन लाग्छ

प्रेयसीको नजर अर्कै तर्फ सोझिए पछि
छेकि सकेको लगन पनि टराउं टराउं मन लाग्छ

नपिएको विषको असर देख्दा ए "सुमन"
त्यही विषको व्यापार गराउं गराउं मन लाग्छ

Friday, March 22, 2019

जगदल

                                २०७१ साल

सेनाको कर्मठ एक बल
वीर योद्धाहरुको जगदल

नभ संग्रामको सारथी
देश र जनताको महारथी
रिपुमा निरन्तर बज्रिने
सगरमाथा झैं आकाशमा ठडिने

देशमा समर्पित एक बल
धीर लडाकुहरुको जगदल

पुर्खाको साहसले सजेको
पौरखी हातले धजेको
धैर्यको ढालले अडेको
वीरको रगतले सिंचेको

हरदम तयार एक बल
अजेय अमर जगदल

सदैब सेवामा खट्टिने
सर्वत्र देशमा रट्टिने
सुरक्षा गर्नमै लट्ठिने
वायुवैरी हरु भुट्टिने

आकाशै ताकने एक बल
त्यागी शहीदहरुको जगदल

सेनाको कर्मठ एक बल
वीर योद्धाहरुको जगदल

Sunday, March 17, 2019

मर्ने तयारी


                                  २०७५\१२\०२

कायम राखौं ईमान पृय, तयारी मर्ने गरौं
गरौं सबको सम्मान पृय, तयारी मर्ने गरौं

विष मनको वमन गरौं, माया प्रेमका कुरा गरौं
खाऔं अमृतको जाम पृय, तयारी मर्ने गरौं

आत्मा आफ्नो साछी राखी, परमात्माका कुरा गरौं
जाऔं यस्तो धाम पृय, तयारी मर्ने गरौं

अन्तरमनको पुकार सुनौं, ढुक ढुकीका कुरा गरौं
छरौं यस्तो ज्ञान पृय, तयारी मर्ने गरौं

नाता गोता छर छिमेकमा, सुख दुःखका कुरा गरौं
छाडौं यस्तो पैगाम पृय, तयारी मर्ने गरौं

रीस राग अहंकारका, महल गाल्ने कुरा गरौं
साटौं यस्तो मुस्कान पृय, तयारी मर्ने गरौं

स्वाभिमानको तरवारले, शत्रु ढाल्ने कुरा गरौं
बाचौं यस्तो शान पृय, तयारी मर्ने गरौं

तिर्नु भर्नु केही भए, हर हिसाबका कुरा गरौं
राखौं यस्तो नाम पृय, तयारी मर्ने गरौं

जाग्राम बसी सपना हेरौं, सपनाकै कुरा गरौं
डाकौं यस्तो बिहान पृय, तयारी मर्ने गरौं

कायम राखौं ईमान पृय, तयारी मर्ने गरौं
गरौं सबको सम्मान पृय, तयारी मर्ने गरौं

                   

Thursday, February 28, 2019

महेन्द्रनगर बदलिएछ !


                                                        2075/11/11
ए महेन्द्रनगर ! तिमीले त नाम फेर्यौ रे !
आत्मीयताको अंगालो लाई बिषालु नागले बेर्यौ रे !
किन ? तिमीले मलाई समेत चिन्न छोड्यौ
तिम्रो हरेक मोडमा मेरी प्रेमिकालाई पर्खेको
तिम्रो हरेक गरामा असारे गीत गाएको
तिम्रो हरेक चौतारी चोक र गल्लिहरुमा
मेरा पदचिन्ह हरु यथावत छन्
तर तिमीले आफ्नो परिचय बदल्यौ रे !
तिमीले आफ्नो तस्वीर बदल्यौ रे !
तिमीले मलाई समेत चिन्न छोड्यौ
एउटै गुहारमा आगो निभाउन जुट्ने तिमीलाई
मलामी जान पनि निमंत्रणा पत्र चाहिन्छ रे !
लहरै भुइमा बसी पातमा भोज खाने तिमीलाई
रंगोली, सामियाना र मेनु चाहिन्छ रे !
हरेक बेदीमा भरिएका रंगीन चामल हरुलाई सोध
हरेक बिहेघरका ध्वजा पताका हरुलाई सोध
मेरा अन्गुठाका छापहरु ताजै हुनेछन
तर तिमीले आफ्नो चालढाल बदल्यौ रे !
तिमीले आफ्नो दिनचर्या पनि ढांट्यौ रे !
तिमीले मलाई समेत चिन्न छोड्यौ
जामुनको रूख निर भ्यू टावर बनेछ
पीपल चौतारी आन्दोलन चोक भएछ
गोरेटोहरू सबै पथ भएछन्
आहाल निर स्वीमिंगपूल बनेछ
धर्मशालाहरु होटल भएछन्
चरन हरु शपिंग कम्प्लेक्स बनेछन्
रामायण गाउने जंगे काका बाइबल बोक्न थालेछन्
बले मितबुवाहरु बसाई सरेछन्
उब्जाउ फांटहरु घडेरी बनेछन्
सीमानाका आलीहरु कांढेतारले बेरिएछन्
आत्मीय सम्बन्धहरु बेचिएछन्
नवआगंतुक सबैलाई परिचय दिंदा दिंदा
ए महेन्द्रनगर ! म त थाकिसकें
किन ? तिमीले आत्मीयता बेच्यौ
किन ? तिमीले सम्बन्धहरुको बोली लगायौ
किन ? तिमीले नाम फेर्यौ
किन ? तिमी बदलियौ
किन ? मलाई चिनेनौ
किन ? मलाई मन पराएनौ
तिमीले नाम फेरे पनि
तिमीले तस्वीर बदले पनि
म, तिम्रै हूं तिम्रै रहने छु
मलाई तिम्रो औधी माया लाग्छ
मलाई फेरी भेट्दा
कृपया मलाई चिन है
मेरो प्यारो महेन्द्रनगर !

Monday, February 4, 2019

म त NCC को क्याडेट

हिजो सम्म कलिलो विद्यार्थी
आजको म जोशिलो शिक्षार्थी
आमा ! मेरो तस्वीर बदलियो
बाबा ! मेरो परिचय बदलियो
म त युवा, जोशिलो र जांगरिलो क्याडेट
म त, NCC को देश भक्त क्याडेट

उफ्रि उफ्रि कवाज खेल्छु
चमक चमक खुकुरी घुमाउंछु
ते क्वान्दोमा लात हान्छु
एरोबिक्स संगै देश बनाउंछु
म त, इमान्दार र बफादार क्याडेट
म त, NCC को नेतृत्व कर्ता क्याडेट

अबेर सम्म सुत्ने बानी, झिसमिसेमै उठ्न थाले
लाइन लागी खाजा खाई, मैदानमा डट्न थाले
स्याण्ड मोडलको ब्रिफिङ्ग पनि, खडाखडी गर्न थाले
नेता जस्तै फर फर फर फर, भाषण पनि गर्न थाले
म त, राष्ट्रिय एकताको प्रतीक क्याडेट
म त, NCC को अनुशासित क्याडेट

थिएटरको ठूलो हलमा
गेष्ट स्पिकरको लोरी सुन्दा
निन्द्रा देवीको काखमा पुग्दा
सुन्दर भविष्यको मेरो सपना भत्काउँदै
अल्छि क्याडेट ! "नसुत" भन्छ
बोल्न आ को, "नबोल" भन्छ
चल्न आ को, "नचल" भन्छ

भक्ति बाहिनी, रारा गण
"क" गुल्म, नम्बर १ से.मु.
व्यक्तिगत नम्बर, वत्तीस चार सय तीस
परिचय दिंदा दिंदै उठ्छ, भयंकर रीस
तै पनि म, विपद्को स्वयं सेवक क्याडेट
म त, NCC को राष्ट्र भक्त क्याडेट

हिजो सम्म  कलिलो विद्यार्थी
आजको म आंटिलो शिक्षार्थी
आमा ! मेरो तस्वीर बदलियो
बाबा ! मेरो परिचय वदलियो
म त, NCC को स्वच्छन्द क्याडेट
म त, NCC  को देश भक्त क्याडेट
म त, NCC  को नेतृत्व कर्ता क्याडेट
म त, NCC को अनुशासित क्याडेट

Friday, January 18, 2019

बुवा र त्यो ढुंगो


प्रसंग १ मैले सानो छंदा सुनेको थिए मेरो बाजे स्व.श्री डुणी चन्द (जय चन्द) ले हाम्रो पुर्ख्यौली थलो हाल मेलौली गा.पा.-४ तितावै, बैतडीमा हात, मुख धुने तथा बस्ने प्रयोजनको लागि झण्डै १५० मिटर टांढाबाट एक्लै पिठ्युमा बोकेर झण्डै २० मिटर उकालोमा घरसम्म एउटा चाक्लो ढुंगा ल्याएर राख्नु भएको थियो । जब मैले पहाडमा रहेको उक्त पुर्ख्यौली थलो घुम्ने अवसर पाए त्यस बेला मैले त्यो अजंगको ढुंगो तितावै हिउंन्या भन्ने स्थानमा देखे जसले बाजेको वलिष्ठताको प्रमाण स्वरुप अडिग रहेको पाए । उक्त ढुंगोलाई मेरो बुवाको पुस्ताले एक्लै बोक्ने त परै जावस हल्लाउन पनि सकेनन् न त हामीहरुको पुस्ताले वोक्ने वा हल्लाउने उद्देश्यले त्यस तर्फ हेर्ने साहस गर्न सक्यौं । उक्त ढुंगो अद्यापी सोहि स्थानमा छ तर समय क्रममा उक्त दुंगोले व्यहोरेको विभिन्न ठोकरहरुले खण्डीकृत (दुई टुक्रा) भएको छ । उक्त दुवै मध्येको एक टुक्रा पनि मेरो मध्य जवानीमा समेत मैले बोक्न सक्दिनथे, तथापी अहिले म मेरो उमेरको उत्तरार्ध्द तर्फ लम्की सकेको छु । मेरो बाजेसंगको अनेकौं किस्साहरु मध्ये एक त्यस दुंगोलाई हल्लाउन पनि कम्तिमा ३/४ जना लाग्नु पर्दथ्यो र त्यो पनि गलको सहायता लिनु पर्दथ्यो । उक्त दुंगो कम्तिमा पनि २५०-३०० किलो ग्राम सम्मको हुनु पर्दछ ।
प्रसंग २ मेरो बुवा (मदन चन्द) बि.सं.२०३९/४० साल तिर क्षयरोगबाट ग्रसित हुनु भएको थियो र करिब ६ महिनाको उपचार पश्चात निको हुनु भएको थियो तथापी पूर्ण रुपले स्वस्थ्य भईसक्नु भएको थिएन । सो समयमा म ११/१२ वर्षको थिए भने बुवाको उमेर ४९-५० वर्ष थियो । महेन्द्रनगर हाल भीमदत्त न.पा.-६ मा रहेको हाम्रो खपडाले छाएको पुरानो घर जीर्ण हुदै गएको हुदा ढुंगा र ईट्टाले नयां पक्कि घर बनाउने प्रयोजनको लागी महाकाली नदीबाट ट्रकमा दुंगा ढुवानी गरेर ल्याईयो तर कच्चि बाटोमा हिलो भएको कारण ट्रक चल्न नसक्ने भनी तत्कालीन समयमा खैरानी भनिने हाम्रो घरबाट करिब ५०० मिटर टांढा रहेको स्थानमा उक्त दुंगाहरु झारियो र सुख्खा मौषममा वयल गाडाबाट ढुवानी गर्न सुरु गरियो । म पनि बुवालाई सहयोग गर्न भनी डराई डराई संगै जान्थे । मलाई थाहा हुन्थेन मैले बुवाको तातो रिसको सामना पांच औंला (Five Star) सहितको झापड र ९ ईन्चको जुत्ताको छाप वा हातमा जे छ त्यहीबाट गर्नु पर्दथ्यो । तसर्थ बुवासंग कुनै यात्रा वा सामिप्य मेरो लागी तत्कालीन समयमा कष्टकर, डरावना र तनावपूर्ण रहन्थ्यो । ट्रकबाट ढुवानी भएका ढुंगाहरु वयल गाडामा भर्दा मैले साना ढुंगा ओसार्थे भने बुवाले ठूला ठूला ढुंगाहरु ओसार्नु हुन्थ्यो । मलाई प्रष्ट सम्झना छ ती फालिएका ढुंगाहरु मध्येको सबै भन्दा ठुलो ढुंगा मेरो बुवाले स्वयंले उठाएको । उक्त ढुंगालाई चिनारीको रुपमा घर निर्माणमा प्रयोग नगरी राखिएको थियो । उक्त ढुंगा समेत यद्धपी महेन्द्रनगरमा रहेको हाम्रै घर आंगनमा मेरो बुवालाई युग पर्यन्त सम्झाउने गरी हामीलाई चुनौती दिइ रहेको भान हुन्छ ।
थप प्रसंगहरु
मेरो बुवा स्वभावले नै कडा मिजासका हुनुको साथै आफ्नो तन्नेरी कालमा भारतीय सेनामा सेवा गरेको कारण उनमा कडा अनुशासन थियो भने कट्टरता उनको चिनारीको रुपमा रहेको थियो । बुवाको फौजी अनुशासन, कडा मिजास र कट्टरताले हाम्रो (हामी भाई बहिनी) वाल मस्तिष्कमा डर र त्रासको रुपमा डेरा गर्यो । हामी भाई बहिनीहरु मध्ये कसैले पनि बुवाको सामुन्ने आफ्नो आवश्यकता र आफ्ना कुराहरु प्रष्ट रुपमा राख्ने हिम्मत गर्न सक्दैन थियौं । हामीहरुले आफ्नो जुन सुकै आवश्यकता वा बिचार व्यक्त गर्न समेत आमाको माध्यमबाट मात्र  सकिन्थ्यो । बुवाले उक्त रवाफ हामीहरुमा मात्र नभई आफ्ना समकक्षी, नातेदार, मित्र, छिमेकी र चिनजानका सबै मान्छेमा कायम गर्न सक्नु भएको थियो । उक्त स्वभावका साथै बुवामा केही मात्रमा जिद्दीपना समेत रहेको थियो र आफ्नो बिचार वा कुरा माथि राख्न बुवाले कथं कदाचित जिद्धीपनाको सहारा समेत लिने गर्नुहुन्थ्यो ।
बुवामा भएका उपर्युक्त गुणहरु (कसैले सोही गुणहरुमा बढी दोष पनि देख्न सक्लान्) को अलावा सहयोगी भावना अत्यधिक रहेको थियो । कसैले आर्थिक सहयोग वा उधारो मागेको अवस्थामा आफुसंग पैसा भएमा खाली हात फर्काएको मलाई कुनै सम्झना छैन । बुवाको सोही सहयोगी भावनाले गर्दा तत्कालीन अवस्थामा २०३५/३६ साल तिर आफ्नो रसद र कपडाको पसलबाट रु.१ लाख बराबरको उधारो समेत दिनु भएको र सोही उधारो रकम नउठेको कारण तथा आफु क्षयरोगको बिरामी भएको कारण बुवाले उक्त पसल बन्द गर्नु परेको अवस्था मलाई टड्कारो सम्झना छ । तत्कालीन अवस्थाको रु.१ लाख हालको मुल्याङ्कनमा रु.१ करोड भन्दा पनि बढी हुने कुरा निर्विबाद छ ।
कट्टरता, कडा मिजास, कडा अनुशासनको बावजुद बुवामा अन्य परिचित/अपिरचित व्यक्तिहरुमा तत्काल विश्वास गर्ने कमजोरी थियो । समयको पूर्ण पालना गर्ने बानिको कारण कुनैपनि तोकिएको स्थानमा समयमा नै पुगी अरुलाई कुर्नु पर्ने अवस्थाहरु रहन्थ्यो । कहिले कांही सहयोग माग्ने मान्छेलाई सहयोग गर्न जादां निज सहयोग माग गर्ने व्यक्तिले पूर्व निर्धारित समय, मिति र स्थानमा नआउदा कतिपय अवस्थामा सहयोग गर्न लागेको सहयोग राशी वा अन्य सामान फिर्ता ल्याएको उदाहरण समेत रहेका छन् । क्षयरोगबाट मुक्त भए पश्चात बुवाले आफुलाई पूर्ण रुपमा वहुदलीय व्यवस्थाको वकालत गर्ने नेपाली कांग्रेसमा समाहित गर्नु भयो । कतिपय अवस्थामा पाक्दै गरेको खाना छोडेर, गर्दै गरेको घरको कामलाई आधैमा विश्राम दिई, बिरामी भएको आमा वा हामी मध्ये कसैको उपचार थाति राखेर पनि आफु र आफ्नो परिवार भन्दा पनि पार्टी र समाज सेवालाई बढी प्राथमिकता दिई एका एक घरबाट अलप भएका घटनाहरु थुप्रै छन् । हामी त साना बाल बालिका थियौं तर बुवाको उक्त क्रियाकलापले पर्न गएको सम्पुर्ण नकरात्मक असरको सामना मेरी एक्ली आमाले व्यहोर्नु पर्दथ्यो ।
वि.पि.कोईरालाको मेल मिलाप नीति पश्चात भएको २०३७ सालको जनमत संग्रहमा बुवा वहुदलको पक्षमा खुलेरै लाग्नु भयो तर परिणाम निर्दलीय व्यवस्थाको पक्षमा  घोषणा गरिएको कारण उक्त परिणामबाट छुब्ध भई आफ्नो हातमा भएको निर्दलको पक्षमा परिणाम भएको समाचार दिने रेडियोलाई भुईमा बजारी बदला लिनु भएको थियो र उक्त कोप भाजन भएको रेडियोको टुक्राहरु अद्यापि प्रमाणको रुपमा बुवाले आफ्नै कोठामा राख्नु भएको छ । २०३७ सालको जनमत संग्रह पश्चात तत्कालीन प्रतिवन्धित नेपाली कांग्रेसले आफ्ना विरोधका कार्यक्रमहरुलाई तीव्र बनाउदै लग्यो र फलस्वरुप बुवाले घरबाट गायव हुने, भूमिगत हुने र अधिकांश अवसरहरुमा राजनैतिक वन्दीको रुपमा मामा घर (जेल) पुग्ने घटनाहरु वढ्न थाले जसको प्रत्यक्ष असर मेरी आमा र समग्रमा हामी सबै भाई वहिनीहरुले व्यहोर्नु पर्दथ्यो ।
बुवा कति पटक जेल पर्नु भयो वा थुनामा पर्नु भयो त्यो कुरा त सम्झनामा रहेन तर म चाहिं कैयौं पटक घरबाट बुवाको साथै अन्य राजनैतिक बन्दीहरुको लागी खाने कुरा लगी कारागार गएको कुरा मलाई सम्झना छ । २०४६ सालको जन आन्दोलनमा बुवाले कञ्चनपुर जिल्ला र सम्पूर्ण महाकाली अञ्चल भरी नै विरोधको कार्यक्रमलाई नेतृत्व लिई उर्जा थप्ने काम गर्नु भयो । अन्य सबै पार्टी पदाधिकारीहरु थुनामा परिसकेको अवस्थामा साधारण कार्यकर्ता र सहानुभूति राख्ने जनताको भरमा आन्दोलनका कार्यक्रम जीवित राख्न गाह्रो थियो तथापि बुवाले आफ्नो वल वुता क्षमताले भ्याए सम्म उक्त कार्य गर्नु भयो । २०४६ साल फाल्गुन ७ गतेको दिन महेन्द्रनगरको खुला मञ्चमा पञ्चायती व्यवस्थाले मनाई रहेको प्रजातन्त्र दिवसमा खुला रुपमा प्रकट भई नेपाली कांग्रेसको झण्डा सहित प्रस्तुत हुनु चान चुने कुरा थिएन । साथै तत्कालीन व्यवस्थाको विरुद्ध नारावाजी गर्नु ज्यानको वाजी लगाउनु सरह नै थियो । निडर भई पञ्चायती कडा जासुसी, सुरक्षा र निगरानीका बीच निडरताका साथ ज्यानको बाजी लगाई बिरोध गरेको कारण कञ्चनपुरका जनताहरुले बुवालाई तत्कालीन समयमा ज्यूंदो शहीदको संज्ञा दिएको थियो । मलाई सम्झना छ, बुवाले २०४६ साल फाल्गुन ७ गतेको तयारी स्वरुप करीब एक महिना अगाडी नै हस्तकलामा सिपालु मेरी दिज्यूलाई नेपाली काग्रेसको झण्डा अंकित हुने गरी सल (पछयौरी) बुन्न लगाउनु भएको थियो । आफ्नो कपाल र दाह्री बढाउनु भएको थियो तथा उक्त दिन सोही सलले आफुलाई एउटा बुढो बाबा (महात्मा/योगी) को भेषमा प्रस्तुत गरी कार्यक्रम स्थल खुलामञ्च (महेन्द्रनगर) मा प्रवेश गर्नु भएको थियो । बुवाले नारा लगाउना साथ र भण्डा प्रदर्शन गर्नासाथ सुरक्षाकर्मीहरुले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्याइ सकेका थिए भने त्यसको भोलीपल्ट जेल चलान गरी सकेका थिए । जन आन्दोलन चर्किदै गयो र २०४६ चैत्र २६ गते वहुदलको घोषणा भयो तर बुवालाई महेन्द्रनगरको गोवरैयामा भएको कालोपुल विष्फोट गराउन योजना गरेको र विष्फोटक पदार्थ ओसार पसार गरेको भनी भुट्ठा मुद्दा लगाएको कारण अन्य व्यक्तिहरुलाई २७ गते नै आम माफि दिई जेल मुक्त गर्दा समेत बुवालाई कैद मै राखियो र २०४७ वैशाख लाग्दा समेत बुवालाई जेलमुक्त गरिएन जसको कारण मेरी दिज्यूको वैशाख २ गते हुने पूर्वनिर्धारित विवाह समेत प्रभावित हुने अवस्था देखियो तर वैशाख १ गते सम्पूर्ण वन्दीहरुलाई छोड्नु पर्ने पुन: आदेश आएको हुंदा बुवालाई मुक्त गरियो । जो कोहिले पनि अनुमान गर्न सक्दछ, आफ्नो जेठो छोरीको (कन्यादान) विवाह जेलबाट मुक्त भएको भोली पल्ट गर्दा के कति व्यवस्थापकीय अडचनहरु आए होलान र अन्य नातेदार छिमेकिहरुले कुन स्तरसम्मको सहयोग गर्नु परेको होला ।
प्रजातन्त्र पुनर्स्थापना पश्चात राजनैतिक चतुरहरुले नेपाली कांग्रेसबाट चुनाव जिते र आफुलाई शक्ति केन्द्रको वरिपरि राखे भने बुवालाई विभिन्न वहाना र आश्वासनमा राखी अञ्चल वाल अनाथालयको संस्थापक अध्यक्ष बनाई व्यवस्थापन (पाखा लगाउने) काम   गरियो । तत्कालीन अवस्थामा राजनैतिक योगदानको कदर भएको भए बुवाले कम्तीमा सांसदको लागी टिकट पाउनु पर्थ्यो र टिकट पाएको अवस्थामा बुवाको जीत निश्चित थियो तर राजनैतिक चतुर खेलाडीहरुले विभिन्न चाल चली उक्त अवस्था आउन दिएनन र प्रतिवन्धित कालमा कञ्चनपुरमा नेपाली कांग्रेसको जिल्ला उपाध्यक्ष कार्यवाहक अध्यक्ष भई ज्यूंदो शहीदको उपमा पाएका व्यक्तिलाई वेवास्ता गरियो फलस्वरुप समयक्रममा वुढ्यौलीको असरले बुवालाई निष्क्रिय हुन बाध्य गरायो ।
नेपाल जस्तो देशमा सिद्धान्तवादी, सोझो, स्वभाव तथा परिस्थिती अनुसार आफ्नो स्वभाव र वोली फेर्न नसक्ने व्यक्तिले सफल राजनीति गर्न सक्दैन आफुलाई शक्ति केन्द्र वरिपरि राख्न विभिन्न जाल झेल, चाल, कुटिलताका साथै चतुर्याई आवश्यक हुन्छ जुन कुरा मेरो बुवाले कहिले अङ्गीकार गर्नसक्नु भएन र प्रजातन्त्र पुनर्स्थापना पश्चात जिल्ला राजनीतिबाट क्रमशः किनारा लाग्दै जानु भयो । बुवाको कडा मिजास, कुरा लुकाउन नसक्ने, सत्य वोल्ने बानी, हक्की स्वभाव, शिक्षाको डिग्री नहुनु र कमजोर आर्थिक अवस्थाले पनि वहांलाई पछि हट्न बाध्य पारेको हुनु पर्दछ ।
जहिले पनि बुवाको केही न केही गरी राख्ने बानी छ । किताब पढ्ने तथा कला संस्कृतीको जगेर्ना गर्दै केही न केही लेखि राख्ने चाहे त्यो गीत, कविता, कथा वा कुनै स्मृति लेखन नै कि नहोस, समयको सदुपयोग गरी राख्नु हुन्छ । बुवाले रोशनको उपनामबाट केही लोपोन्मुख लोक साहित्य संकलनका साथै केही स्मृतिहरुलाई लिपिबद्ध गर्नुभएको छ । वहां मेरो लागी प्रथम गुरु र प्रेरणा श्रोत हुनुहुन्छ । वहांको हस्ताक्षार अति नै सुन्दर थिए तर बुढ्यौलीको कारण हाल हातको सन्तुलन राख्न नसक्ने हुंदा लेख्न सक्नु हुन्न । मैले कतिपय अवस्थामा वहांलाई आफ्नो स्मृतिलाई शब्दको रुप दिने प्रयास स्वरुप लेख्ने हातलाई अर्को हातले समाती सन्तुलन गर्ने प्रयास स्वरुप थरथराहटको बीच पनि लेखेको देख्दा वहांको हौसला र जीवनमा केही सम्झन योग्य कुरा गर्नु पर्दछ भन्ने भावनाको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । तथापी उक्त दृश्यले मलाई भावुक र दुःखित तुल्याएको हुन्छ ।
मेरो बुवाको जन्म १९९० कार्तिक ३० गते भएको थियो हाल वहांलाई ८५ वर्ष पुरा भैसकेको छ । समयको क्रममा हाल बुवाको स्वास्थ्य अवस्था कमजोर हुदै गएको कारण हिंडडुल गर्दा पनि समस्या हुंदै गएको छ । हाल वहांको थकित र घट्दै गएको हौशला युक्त अनुहारले वहां जस्तो तेज र जोश भएको व्यक्ति, त्यस्तो थकित र मुर्झाउन पनि सक्दछ भन्ने कुरा सोच्न बाध्य तुल्याउदैछ । सधै उच्च स्तरको पहिरन र सजावटको साथ हिंडडुल गर्ने बुवामा घट्दै गएको ऊर्जाले म साह्रै दुःखित पनि हुन्छु । बुवा बिरामी भएर मुटुको अपरेशन गर्न अस्पताल जादां समेत आफै नुहाइ धुवाई गरी स्वयंले लुगामा इस्तिरी लगाई रौवदार जुंगामा ताउ लगाएर तथा दाह्रीलाई सटीक विन्यास बनाएर गएको समेत मलाई सम्झना छ । वहां जस्तो उच्च हौसला युक्त व्यक्ति पनि बिस्तारै कमजोर हुंदो रहेछ भनेर मलाई विश्वास लाग्दैन । जोश र जांगरका प्रतिविम्ब, कट्टर अनुशासनका मर्यादा पालक र निडरताका प्रतीक मेरो बुवा आफ्नो समयका समाजका नेतृत्व कर्ता नै हुन, वहांलाई वहांको समयमा साहसी र ज्यूंदो शहीदको नामले महेन्द्रनगरमा नचिन्ने कमै थिए होलान । विशुध्द आफ्नो बलबुतामा आफ्नो छाप छोडेका मेरा बुवाका पद चिन्हहरु मेरो लागी प्रेरणा हुन । म वहांले चाहे जस्तो वन्न सके वा सकिन त्यो आफ्नो ठाउंमा होला तर म जे जति पनि आज छु, त्यो सबैको श्रेय मेरो बुवालाई नै जान्छ । कर वलले नै भएपनि म अनुशासित बन्न सके, सारा जीवनमा थोरै भए पनि केहि हासिल गरेको छु । औपचारिक शिक्षा भएता पनि मेरो बुवाले स्वअध्ययन र सैनिक सेवाको दौरान गरेको ज्ञान आर्जनले वहांलाई समाजमा केही कुरा राख्न, विश्लेषण गर्न र सुझाव सल्लाह दिन योग्य वनाएको थियो । म स्वयं पनि सैनिक सेवा मै छु तथापि बुवाले आफ्नो सैनिक जीवनमा आजभन्दा करीब ६० वर्ष अघि पढे गरेका पेशागत सैनिक कला कौशल र ज्ञानको वर्णन आजको समयमा हुबहु गर्न सक्नु र त्रुटिरहित तरिकाले प्रदर्शन गर्न सक्नु नै वहांको पेशा प्रतिको समर्पणको भाव प्रकट गर्दछ । बुवाको सिक्नु पर्छ भन्ने भावना, तृक्ष्ण वुध्दि र स्मरण शक्तिको समेत म कायल भएको छु । मेरो बुवाको ढुंगा जस्तो कट्टरता र अनुशासनले नै मलाई यहां पुर्यायो । पहाडमा रहेको ढुंगोले बाजेको सम्झना गराई रहने छ भने मधेशमा रहेको त्यो ढुंगोले युग पर्यन्त सम्म बुवाको प्रतिबिम्व झल्काई नै रहने छ । बुवाका साथै त्यो ढुंगोलाई पनि सलाम ।


र अन्त्यमा
बोली हो कि बाघको गर्जन
वातावरण थर्कमान र स्तब्ध
हल्लन पनि पातले अनुमति माग्नु पर्ने
ढुंगाको अक्षर जस्तो फौजी अनुशासन
मेरो बुवाको

हरेक काममा उत्कृष्टता चाहिने
रौं गल्तीमा पनि चड्कन च्युरा पाईने
असमर्थताको छैन गुञ्जायस कुनै
कट्टरता चट्टान सरि
मेरो बुवाको

आफन्त, परिचित/अपरिचित
सबैमा छ समानता
सत्य तर तितो बोली
निरन्तर निस्कने तातो गोली
मेरो बुवाको

जिद्धि अनि कठोर
निडर तथा सहयोगी
गर्जने तर समाजसेवी
दृढ निश्चय र अठोट
मेरो बुवाको

देवता होइनन मानव हुन
गुण मात्र नभई अवगुण पनि छन्
समाज, जनता र राष्ट्रका लागि
जिउ ज्यान अर्पिने भावना
मेरो बुवाको

गर्जन्थे र पो सबले सुने
उत्कृष्ट थिए र पो हामीले सिक्यौ
गोली जस्तो बोली
निडर भएर पो ज्यूंदो शहिद कहलिए
सलाम छ मेरो बुवा  

Sunday, January 6, 2019

दुई दशक - 2075/08/25


दुःखको आवरणमा तनावको उपहार पायौ
पीडा सागरमा निराशा डुबुल्कि मार्न, किन आयौ

पुरा भएनन् वाचा देखिएन कुनै आशा
आकाँक्षा अनेक लत्याई चहार्न, किन आयौ

अन्यौलको भुमरिमा आंखा भरी सपना लिई
आंधी बेहरीमा कसिंगर बढार्न, किन आयौ

विरहको गांसमा वेदनाको तिहुन मिची
रूखो सुखो एक छाक डकार्न, किन आयौ

दशक दुई लामा ओराली हरूमा
असफलताका अपराध सकार्न,  किन आयौ

राष्ट्रीय सेवा दल गीत

देशभक्त युवा, शक्तिको वल
हाम्रो प्यारो, राष्ट्रीय सेवा दल - २

युवा हामी आजका, भोली नेतृत्व दिन्छौं
ध्रुव जस्तै अटल हामी, सदा सत्य बोल्छौं
हाम्रो नशा नशामा, युवा जोश जांगर छ
कोशी धार रोक्न सक्ने, हामी संग तागत छ

देशभक्त युवा, शक्तिको वल
हाम्रो प्यारो, राष्ट्रीय सेवा दल

अनुशासन, वफादारी, इमान्दारी शक्ति हो
डटि लड्ने, मरि मेट्ने, त्यही देशभक्ति हो
राष्ट्रीय एकता, युवा दस्ता हामी स्वयं सेवक
विपदका बेलाका, हामी सबै केवट

देशभक्त युवा, शक्तिको वल
हाम्रो प्यारो, राष्ट्रीय सेवा दल

रंगी चंगी सयौं थरी, हामी सबै फूल हौं
मातृभूमि विकास गर्ने, हामी सबै मूल हौं
रिपु, अरि, वैरी सबै, हाम्रा लागी धूल सरी
देश वाशी सबै जन, हाम्रा आफ्नै कूल सरी

देशभक्त युवा, शक्तिको वल
हाम्रो प्यारो, राष्ट्रीय सेवा दल - २