Wednesday, June 26, 2019

यात्रा

                                               २०७६/०३/११

यात्राको संघर्ष
मेरो अर्ध जीवन बाटै शुरू भयो
जब म धकेलिएं सम्पूर्णताको होडमा
करोडौंको भीड थियो तर एक्लो थिएं म
गन्तव्य थाहा थिएन रनभुल्ल थिएं म
कसैले मलाई बिस्तारै थपथपायो मुग्ध भएं म
न्यानो अंगालोमा बेर्यो र सम्पूर्णताको सास फेर्यो
करीब नौ महीने यात्राको सहयात्री बनायो
पृथ्वी भन्ने पहिलो बिसौनी आयो
कैयौं यात्रु ओर्ले कैयौं यात्रु उक्ले
यात्रा निरन्तर चलिरह्यो

धुमिल चेतना साकार हुंदै गयो
मलाई संघर्षमा प्रेरित गर्ने बुवा थिए
पूर्णता दिने ममतामयी आमाले बताइन्
म आमा बुवाको सहयात्री बनें
दोश्रो बिसौनी आउनु पूर्व
दाजुभाई, दिदीबहिनी र ईष्टमित्र पनि देखें
म यात्री घोषित भएं अरुसबै मेरा सहयात्री कहलिए
दोश्रो बिसौनी आयो
कैयौं चढे झरे
यात्रा निरन्तर चलिरह्यो

आफ्नो समूह सहित मुस्कुराउदै झुल्किइन उनी
मेरी सहयात्री बनिन्
र श्रीमती हूं भनिन्
यसैबीच तेश्रो बिसौनी आयो
कैयौं घटे बढे
यात्रा रोकिएन
निरन्तर चलिरह्यो

चन्चल परीहरु देखापरे
मैले मायालु नजरले हेरेको मात्र के थिए
बाबा भन्दै मलाई अंगालो मार्न आइपुगिन्
मेरी छोरीहरु
भेटिए थुप्रै नव युवा युवतीहरु
पुराना अनुहार घट्दैगएको र
नयां अनुहार थपिंदैगएको महसूस भयो
चौथो बिसौनी पनि आइपुगेछ
चढ्ने झर्ने क्रम दोहोरियो
को को चढे झरे पत्तै भएन
तैपनि यात्रा निरन्तर चलिरह्यो

हठात्, मैले सम्झे
मलाई यात्रामा सामेल गराउने बा आमालाई
नजर चारैतर्फ दौडाएं
अहं, देख्दै देखिन
म वहाँहरुको सहयात्री थिएं
तर मैले वहांहरुलाई मेरा सहयात्री सम्झें
भीड़भाड़मा रेखदेख गर्न सकिन वा म बिर्सें
कहाँ कुन बिसौनीमा झरेछन् पत्तै भएन
दु:ख उच्छ्वास
बा आमाले समेत मलाई जनाउ दिएनन्
अर्को बिसौनी आइसकेछ
कैयौं चढ्ने झर्ने क्रम यथावत रह्यो
निरन्तर यात्रा चलिरह्यो

यात्राकै क्रममा पुगियो
नयां ठाउँ, नयां बोली, नौलो रहन सहन
नयां इशारा, नयां भाव, नौलो प्रसंग
छोरीहरुले घोषणा गरे
अब हामी यात्री हजुर सहयात्री
भीड़ बढदै गयो थकान महसूस भयो
फेरी आयो अर्को बिसौनी
आफुले नचाहदा नचाहदै
झर्ने यात्रुको हूलमा म पनि हुत्तिएं
चढ्ने यात्रु मलाई कुल्चदै बढे
यात्रा अगाड़ी बढीरह्यो

जब होश आयो
पृथ्वीमै हो वा अन्य कुनै लोक
सुनसान बिसौनीमा अलपत्र म
चकमन्न अन्धकारमा एक्लो म
उठ्न सक्छु न कसैलाई बोलाउन
मलाई थाहा छ
मलाई कोही भेट्न आउने छैन
मलाई पछुतो रहीरहने छ
मैले मेरा सहयात्रीहरुलाई धन्यवाद दिन सकेन
मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गरेकोमा

बा आमा छाडेर गए
श्रीमतीको अन्तिम चुम्बन छुट्यो
नाता गोता टाढिए
सहयात्री बाट यात्री र पुन: सहयात्री बनेको
म धकेलिएं र झारिएं
छोरीहरुको यात्रा अविरल चलिरहोस
विनती

मेरो यात्रा विशेष थियो
टिकट न जांचकी
चालक न गन्तव्य
आफुखुशी चढ्न न झर्न पाइने
कसैले चढाउंथ्यो र झार्थ्यो पनि
शायद उक्त यात्रा पूर्णतः स्वचालित थियो
कुनै अदृश्य शक्तिको निर्देशनमा
कसलाई कहां चढाउने र झार्ने
पूर्ण नियन्त्रण शायद उतै थियो

आज म नितान्त एक्लो छु
शायद भीड़भाड़मा पनि एक्लै थिएं
गन्तव्यहीन र दिशाहीन
मूकदर्शक यात्री म
निष्प्राण यात्री म

No comments:

Post a Comment