Friday, January 18, 2019

बुवा र त्यो ढुंगो


प्रसंग १ मैले सानो छंदा सुनेको थिए मेरो बाजे स्व.श्री डुणी चन्द (जय चन्द) ले हाम्रो पुर्ख्यौली थलो हाल मेलौली गा.पा.-४ तितावै, बैतडीमा हात, मुख धुने तथा बस्ने प्रयोजनको लागि झण्डै १५० मिटर टांढाबाट एक्लै पिठ्युमा बोकेर झण्डै २० मिटर उकालोमा घरसम्म एउटा चाक्लो ढुंगा ल्याएर राख्नु भएको थियो । जब मैले पहाडमा रहेको उक्त पुर्ख्यौली थलो घुम्ने अवसर पाए त्यस बेला मैले त्यो अजंगको ढुंगो तितावै हिउंन्या भन्ने स्थानमा देखे जसले बाजेको वलिष्ठताको प्रमाण स्वरुप अडिग रहेको पाए । उक्त ढुंगोलाई मेरो बुवाको पुस्ताले एक्लै बोक्ने त परै जावस हल्लाउन पनि सकेनन् न त हामीहरुको पुस्ताले वोक्ने वा हल्लाउने उद्देश्यले त्यस तर्फ हेर्ने साहस गर्न सक्यौं । उक्त ढुंगो अद्यापी सोहि स्थानमा छ तर समय क्रममा उक्त दुंगोले व्यहोरेको विभिन्न ठोकरहरुले खण्डीकृत (दुई टुक्रा) भएको छ । उक्त दुवै मध्येको एक टुक्रा पनि मेरो मध्य जवानीमा समेत मैले बोक्न सक्दिनथे, तथापी अहिले म मेरो उमेरको उत्तरार्ध्द तर्फ लम्की सकेको छु । मेरो बाजेसंगको अनेकौं किस्साहरु मध्ये एक त्यस दुंगोलाई हल्लाउन पनि कम्तिमा ३/४ जना लाग्नु पर्दथ्यो र त्यो पनि गलको सहायता लिनु पर्दथ्यो । उक्त दुंगो कम्तिमा पनि २५०-३०० किलो ग्राम सम्मको हुनु पर्दछ ।
प्रसंग २ मेरो बुवा (मदन चन्द) बि.सं.२०३९/४० साल तिर क्षयरोगबाट ग्रसित हुनु भएको थियो र करिब ६ महिनाको उपचार पश्चात निको हुनु भएको थियो तथापी पूर्ण रुपले स्वस्थ्य भईसक्नु भएको थिएन । सो समयमा म ११/१२ वर्षको थिए भने बुवाको उमेर ४९-५० वर्ष थियो । महेन्द्रनगर हाल भीमदत्त न.पा.-६ मा रहेको हाम्रो खपडाले छाएको पुरानो घर जीर्ण हुदै गएको हुदा ढुंगा र ईट्टाले नयां पक्कि घर बनाउने प्रयोजनको लागी महाकाली नदीबाट ट्रकमा दुंगा ढुवानी गरेर ल्याईयो तर कच्चि बाटोमा हिलो भएको कारण ट्रक चल्न नसक्ने भनी तत्कालीन समयमा खैरानी भनिने हाम्रो घरबाट करिब ५०० मिटर टांढा रहेको स्थानमा उक्त दुंगाहरु झारियो र सुख्खा मौषममा वयल गाडाबाट ढुवानी गर्न सुरु गरियो । म पनि बुवालाई सहयोग गर्न भनी डराई डराई संगै जान्थे । मलाई थाहा हुन्थेन मैले बुवाको तातो रिसको सामना पांच औंला (Five Star) सहितको झापड र ९ ईन्चको जुत्ताको छाप वा हातमा जे छ त्यहीबाट गर्नु पर्दथ्यो । तसर्थ बुवासंग कुनै यात्रा वा सामिप्य मेरो लागी तत्कालीन समयमा कष्टकर, डरावना र तनावपूर्ण रहन्थ्यो । ट्रकबाट ढुवानी भएका ढुंगाहरु वयल गाडामा भर्दा मैले साना ढुंगा ओसार्थे भने बुवाले ठूला ठूला ढुंगाहरु ओसार्नु हुन्थ्यो । मलाई प्रष्ट सम्झना छ ती फालिएका ढुंगाहरु मध्येको सबै भन्दा ठुलो ढुंगा मेरो बुवाले स्वयंले उठाएको । उक्त ढुंगालाई चिनारीको रुपमा घर निर्माणमा प्रयोग नगरी राखिएको थियो । उक्त ढुंगा समेत यद्धपी महेन्द्रनगरमा रहेको हाम्रै घर आंगनमा मेरो बुवालाई युग पर्यन्त सम्झाउने गरी हामीलाई चुनौती दिइ रहेको भान हुन्छ ।
थप प्रसंगहरु
मेरो बुवा स्वभावले नै कडा मिजासका हुनुको साथै आफ्नो तन्नेरी कालमा भारतीय सेनामा सेवा गरेको कारण उनमा कडा अनुशासन थियो भने कट्टरता उनको चिनारीको रुपमा रहेको थियो । बुवाको फौजी अनुशासन, कडा मिजास र कट्टरताले हाम्रो (हामी भाई बहिनी) वाल मस्तिष्कमा डर र त्रासको रुपमा डेरा गर्यो । हामी भाई बहिनीहरु मध्ये कसैले पनि बुवाको सामुन्ने आफ्नो आवश्यकता र आफ्ना कुराहरु प्रष्ट रुपमा राख्ने हिम्मत गर्न सक्दैन थियौं । हामीहरुले आफ्नो जुन सुकै आवश्यकता वा बिचार व्यक्त गर्न समेत आमाको माध्यमबाट मात्र  सकिन्थ्यो । बुवाले उक्त रवाफ हामीहरुमा मात्र नभई आफ्ना समकक्षी, नातेदार, मित्र, छिमेकी र चिनजानका सबै मान्छेमा कायम गर्न सक्नु भएको थियो । उक्त स्वभावका साथै बुवामा केही मात्रमा जिद्दीपना समेत रहेको थियो र आफ्नो बिचार वा कुरा माथि राख्न बुवाले कथं कदाचित जिद्धीपनाको सहारा समेत लिने गर्नुहुन्थ्यो ।
बुवामा भएका उपर्युक्त गुणहरु (कसैले सोही गुणहरुमा बढी दोष पनि देख्न सक्लान्) को अलावा सहयोगी भावना अत्यधिक रहेको थियो । कसैले आर्थिक सहयोग वा उधारो मागेको अवस्थामा आफुसंग पैसा भएमा खाली हात फर्काएको मलाई कुनै सम्झना छैन । बुवाको सोही सहयोगी भावनाले गर्दा तत्कालीन अवस्थामा २०३५/३६ साल तिर आफ्नो रसद र कपडाको पसलबाट रु.१ लाख बराबरको उधारो समेत दिनु भएको र सोही उधारो रकम नउठेको कारण तथा आफु क्षयरोगको बिरामी भएको कारण बुवाले उक्त पसल बन्द गर्नु परेको अवस्था मलाई टड्कारो सम्झना छ । तत्कालीन अवस्थाको रु.१ लाख हालको मुल्याङ्कनमा रु.१ करोड भन्दा पनि बढी हुने कुरा निर्विबाद छ ।
कट्टरता, कडा मिजास, कडा अनुशासनको बावजुद बुवामा अन्य परिचित/अपिरचित व्यक्तिहरुमा तत्काल विश्वास गर्ने कमजोरी थियो । समयको पूर्ण पालना गर्ने बानिको कारण कुनैपनि तोकिएको स्थानमा समयमा नै पुगी अरुलाई कुर्नु पर्ने अवस्थाहरु रहन्थ्यो । कहिले कांही सहयोग माग्ने मान्छेलाई सहयोग गर्न जादां निज सहयोग माग गर्ने व्यक्तिले पूर्व निर्धारित समय, मिति र स्थानमा नआउदा कतिपय अवस्थामा सहयोग गर्न लागेको सहयोग राशी वा अन्य सामान फिर्ता ल्याएको उदाहरण समेत रहेका छन् । क्षयरोगबाट मुक्त भए पश्चात बुवाले आफुलाई पूर्ण रुपमा वहुदलीय व्यवस्थाको वकालत गर्ने नेपाली कांग्रेसमा समाहित गर्नु भयो । कतिपय अवस्थामा पाक्दै गरेको खाना छोडेर, गर्दै गरेको घरको कामलाई आधैमा विश्राम दिई, बिरामी भएको आमा वा हामी मध्ये कसैको उपचार थाति राखेर पनि आफु र आफ्नो परिवार भन्दा पनि पार्टी र समाज सेवालाई बढी प्राथमिकता दिई एका एक घरबाट अलप भएका घटनाहरु थुप्रै छन् । हामी त साना बाल बालिका थियौं तर बुवाको उक्त क्रियाकलापले पर्न गएको सम्पुर्ण नकरात्मक असरको सामना मेरी एक्ली आमाले व्यहोर्नु पर्दथ्यो ।
वि.पि.कोईरालाको मेल मिलाप नीति पश्चात भएको २०३७ सालको जनमत संग्रहमा बुवा वहुदलको पक्षमा खुलेरै लाग्नु भयो तर परिणाम निर्दलीय व्यवस्थाको पक्षमा  घोषणा गरिएको कारण उक्त परिणामबाट छुब्ध भई आफ्नो हातमा भएको निर्दलको पक्षमा परिणाम भएको समाचार दिने रेडियोलाई भुईमा बजारी बदला लिनु भएको थियो र उक्त कोप भाजन भएको रेडियोको टुक्राहरु अद्यापि प्रमाणको रुपमा बुवाले आफ्नै कोठामा राख्नु भएको छ । २०३७ सालको जनमत संग्रह पश्चात तत्कालीन प्रतिवन्धित नेपाली कांग्रेसले आफ्ना विरोधका कार्यक्रमहरुलाई तीव्र बनाउदै लग्यो र फलस्वरुप बुवाले घरबाट गायव हुने, भूमिगत हुने र अधिकांश अवसरहरुमा राजनैतिक वन्दीको रुपमा मामा घर (जेल) पुग्ने घटनाहरु वढ्न थाले जसको प्रत्यक्ष असर मेरी आमा र समग्रमा हामी सबै भाई वहिनीहरुले व्यहोर्नु पर्दथ्यो ।
बुवा कति पटक जेल पर्नु भयो वा थुनामा पर्नु भयो त्यो कुरा त सम्झनामा रहेन तर म चाहिं कैयौं पटक घरबाट बुवाको साथै अन्य राजनैतिक बन्दीहरुको लागी खाने कुरा लगी कारागार गएको कुरा मलाई सम्झना छ । २०४६ सालको जन आन्दोलनमा बुवाले कञ्चनपुर जिल्ला र सम्पूर्ण महाकाली अञ्चल भरी नै विरोधको कार्यक्रमलाई नेतृत्व लिई उर्जा थप्ने काम गर्नु भयो । अन्य सबै पार्टी पदाधिकारीहरु थुनामा परिसकेको अवस्थामा साधारण कार्यकर्ता र सहानुभूति राख्ने जनताको भरमा आन्दोलनका कार्यक्रम जीवित राख्न गाह्रो थियो तथापि बुवाले आफ्नो वल वुता क्षमताले भ्याए सम्म उक्त कार्य गर्नु भयो । २०४६ साल फाल्गुन ७ गतेको दिन महेन्द्रनगरको खुला मञ्चमा पञ्चायती व्यवस्थाले मनाई रहेको प्रजातन्त्र दिवसमा खुला रुपमा प्रकट भई नेपाली कांग्रेसको झण्डा सहित प्रस्तुत हुनु चान चुने कुरा थिएन । साथै तत्कालीन व्यवस्थाको विरुद्ध नारावाजी गर्नु ज्यानको वाजी लगाउनु सरह नै थियो । निडर भई पञ्चायती कडा जासुसी, सुरक्षा र निगरानीका बीच निडरताका साथ ज्यानको बाजी लगाई बिरोध गरेको कारण कञ्चनपुरका जनताहरुले बुवालाई तत्कालीन समयमा ज्यूंदो शहीदको संज्ञा दिएको थियो । मलाई सम्झना छ, बुवाले २०४६ साल फाल्गुन ७ गतेको तयारी स्वरुप करीब एक महिना अगाडी नै हस्तकलामा सिपालु मेरी दिज्यूलाई नेपाली काग्रेसको झण्डा अंकित हुने गरी सल (पछयौरी) बुन्न लगाउनु भएको थियो । आफ्नो कपाल र दाह्री बढाउनु भएको थियो तथा उक्त दिन सोही सलले आफुलाई एउटा बुढो बाबा (महात्मा/योगी) को भेषमा प्रस्तुत गरी कार्यक्रम स्थल खुलामञ्च (महेन्द्रनगर) मा प्रवेश गर्नु भएको थियो । बुवाले नारा लगाउना साथ र भण्डा प्रदर्शन गर्नासाथ सुरक्षाकर्मीहरुले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्याइ सकेका थिए भने त्यसको भोलीपल्ट जेल चलान गरी सकेका थिए । जन आन्दोलन चर्किदै गयो र २०४६ चैत्र २६ गते वहुदलको घोषणा भयो तर बुवालाई महेन्द्रनगरको गोवरैयामा भएको कालोपुल विष्फोट गराउन योजना गरेको र विष्फोटक पदार्थ ओसार पसार गरेको भनी भुट्ठा मुद्दा लगाएको कारण अन्य व्यक्तिहरुलाई २७ गते नै आम माफि दिई जेल मुक्त गर्दा समेत बुवालाई कैद मै राखियो र २०४७ वैशाख लाग्दा समेत बुवालाई जेलमुक्त गरिएन जसको कारण मेरी दिज्यूको वैशाख २ गते हुने पूर्वनिर्धारित विवाह समेत प्रभावित हुने अवस्था देखियो तर वैशाख १ गते सम्पूर्ण वन्दीहरुलाई छोड्नु पर्ने पुन: आदेश आएको हुंदा बुवालाई मुक्त गरियो । जो कोहिले पनि अनुमान गर्न सक्दछ, आफ्नो जेठो छोरीको (कन्यादान) विवाह जेलबाट मुक्त भएको भोली पल्ट गर्दा के कति व्यवस्थापकीय अडचनहरु आए होलान र अन्य नातेदार छिमेकिहरुले कुन स्तरसम्मको सहयोग गर्नु परेको होला ।
प्रजातन्त्र पुनर्स्थापना पश्चात राजनैतिक चतुरहरुले नेपाली कांग्रेसबाट चुनाव जिते र आफुलाई शक्ति केन्द्रको वरिपरि राखे भने बुवालाई विभिन्न वहाना र आश्वासनमा राखी अञ्चल वाल अनाथालयको संस्थापक अध्यक्ष बनाई व्यवस्थापन (पाखा लगाउने) काम   गरियो । तत्कालीन अवस्थामा राजनैतिक योगदानको कदर भएको भए बुवाले कम्तीमा सांसदको लागी टिकट पाउनु पर्थ्यो र टिकट पाएको अवस्थामा बुवाको जीत निश्चित थियो तर राजनैतिक चतुर खेलाडीहरुले विभिन्न चाल चली उक्त अवस्था आउन दिएनन र प्रतिवन्धित कालमा कञ्चनपुरमा नेपाली कांग्रेसको जिल्ला उपाध्यक्ष कार्यवाहक अध्यक्ष भई ज्यूंदो शहीदको उपमा पाएका व्यक्तिलाई वेवास्ता गरियो फलस्वरुप समयक्रममा वुढ्यौलीको असरले बुवालाई निष्क्रिय हुन बाध्य गरायो ।
नेपाल जस्तो देशमा सिद्धान्तवादी, सोझो, स्वभाव तथा परिस्थिती अनुसार आफ्नो स्वभाव र वोली फेर्न नसक्ने व्यक्तिले सफल राजनीति गर्न सक्दैन आफुलाई शक्ति केन्द्र वरिपरि राख्न विभिन्न जाल झेल, चाल, कुटिलताका साथै चतुर्याई आवश्यक हुन्छ जुन कुरा मेरो बुवाले कहिले अङ्गीकार गर्नसक्नु भएन र प्रजातन्त्र पुनर्स्थापना पश्चात जिल्ला राजनीतिबाट क्रमशः किनारा लाग्दै जानु भयो । बुवाको कडा मिजास, कुरा लुकाउन नसक्ने, सत्य वोल्ने बानी, हक्की स्वभाव, शिक्षाको डिग्री नहुनु र कमजोर आर्थिक अवस्थाले पनि वहांलाई पछि हट्न बाध्य पारेको हुनु पर्दछ ।
जहिले पनि बुवाको केही न केही गरी राख्ने बानी छ । किताब पढ्ने तथा कला संस्कृतीको जगेर्ना गर्दै केही न केही लेखि राख्ने चाहे त्यो गीत, कविता, कथा वा कुनै स्मृति लेखन नै कि नहोस, समयको सदुपयोग गरी राख्नु हुन्छ । बुवाले रोशनको उपनामबाट केही लोपोन्मुख लोक साहित्य संकलनका साथै केही स्मृतिहरुलाई लिपिबद्ध गर्नुभएको छ । वहां मेरो लागी प्रथम गुरु र प्रेरणा श्रोत हुनुहुन्छ । वहांको हस्ताक्षार अति नै सुन्दर थिए तर बुढ्यौलीको कारण हाल हातको सन्तुलन राख्न नसक्ने हुंदा लेख्न सक्नु हुन्न । मैले कतिपय अवस्थामा वहांलाई आफ्नो स्मृतिलाई शब्दको रुप दिने प्रयास स्वरुप लेख्ने हातलाई अर्को हातले समाती सन्तुलन गर्ने प्रयास स्वरुप थरथराहटको बीच पनि लेखेको देख्दा वहांको हौसला र जीवनमा केही सम्झन योग्य कुरा गर्नु पर्दछ भन्ने भावनाको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । तथापी उक्त दृश्यले मलाई भावुक र दुःखित तुल्याएको हुन्छ ।
मेरो बुवाको जन्म १९९० कार्तिक ३० गते भएको थियो हाल वहांलाई ८५ वर्ष पुरा भैसकेको छ । समयको क्रममा हाल बुवाको स्वास्थ्य अवस्था कमजोर हुदै गएको कारण हिंडडुल गर्दा पनि समस्या हुंदै गएको छ । हाल वहांको थकित र घट्दै गएको हौशला युक्त अनुहारले वहां जस्तो तेज र जोश भएको व्यक्ति, त्यस्तो थकित र मुर्झाउन पनि सक्दछ भन्ने कुरा सोच्न बाध्य तुल्याउदैछ । सधै उच्च स्तरको पहिरन र सजावटको साथ हिंडडुल गर्ने बुवामा घट्दै गएको ऊर्जाले म साह्रै दुःखित पनि हुन्छु । बुवा बिरामी भएर मुटुको अपरेशन गर्न अस्पताल जादां समेत आफै नुहाइ धुवाई गरी स्वयंले लुगामा इस्तिरी लगाई रौवदार जुंगामा ताउ लगाएर तथा दाह्रीलाई सटीक विन्यास बनाएर गएको समेत मलाई सम्झना छ । वहां जस्तो उच्च हौसला युक्त व्यक्ति पनि बिस्तारै कमजोर हुंदो रहेछ भनेर मलाई विश्वास लाग्दैन । जोश र जांगरका प्रतिविम्ब, कट्टर अनुशासनका मर्यादा पालक र निडरताका प्रतीक मेरो बुवा आफ्नो समयका समाजका नेतृत्व कर्ता नै हुन, वहांलाई वहांको समयमा साहसी र ज्यूंदो शहीदको नामले महेन्द्रनगरमा नचिन्ने कमै थिए होलान । विशुध्द आफ्नो बलबुतामा आफ्नो छाप छोडेका मेरा बुवाका पद चिन्हहरु मेरो लागी प्रेरणा हुन । म वहांले चाहे जस्तो वन्न सके वा सकिन त्यो आफ्नो ठाउंमा होला तर म जे जति पनि आज छु, त्यो सबैको श्रेय मेरो बुवालाई नै जान्छ । कर वलले नै भएपनि म अनुशासित बन्न सके, सारा जीवनमा थोरै भए पनि केहि हासिल गरेको छु । औपचारिक शिक्षा भएता पनि मेरो बुवाले स्वअध्ययन र सैनिक सेवाको दौरान गरेको ज्ञान आर्जनले वहांलाई समाजमा केही कुरा राख्न, विश्लेषण गर्न र सुझाव सल्लाह दिन योग्य वनाएको थियो । म स्वयं पनि सैनिक सेवा मै छु तथापि बुवाले आफ्नो सैनिक जीवनमा आजभन्दा करीब ६० वर्ष अघि पढे गरेका पेशागत सैनिक कला कौशल र ज्ञानको वर्णन आजको समयमा हुबहु गर्न सक्नु र त्रुटिरहित तरिकाले प्रदर्शन गर्न सक्नु नै वहांको पेशा प्रतिको समर्पणको भाव प्रकट गर्दछ । बुवाको सिक्नु पर्छ भन्ने भावना, तृक्ष्ण वुध्दि र स्मरण शक्तिको समेत म कायल भएको छु । मेरो बुवाको ढुंगा जस्तो कट्टरता र अनुशासनले नै मलाई यहां पुर्यायो । पहाडमा रहेको ढुंगोले बाजेको सम्झना गराई रहने छ भने मधेशमा रहेको त्यो ढुंगोले युग पर्यन्त सम्म बुवाको प्रतिबिम्व झल्काई नै रहने छ । बुवाका साथै त्यो ढुंगोलाई पनि सलाम ।


र अन्त्यमा
बोली हो कि बाघको गर्जन
वातावरण थर्कमान र स्तब्ध
हल्लन पनि पातले अनुमति माग्नु पर्ने
ढुंगाको अक्षर जस्तो फौजी अनुशासन
मेरो बुवाको

हरेक काममा उत्कृष्टता चाहिने
रौं गल्तीमा पनि चड्कन च्युरा पाईने
असमर्थताको छैन गुञ्जायस कुनै
कट्टरता चट्टान सरि
मेरो बुवाको

आफन्त, परिचित/अपरिचित
सबैमा छ समानता
सत्य तर तितो बोली
निरन्तर निस्कने तातो गोली
मेरो बुवाको

जिद्धि अनि कठोर
निडर तथा सहयोगी
गर्जने तर समाजसेवी
दृढ निश्चय र अठोट
मेरो बुवाको

देवता होइनन मानव हुन
गुण मात्र नभई अवगुण पनि छन्
समाज, जनता र राष्ट्रका लागि
जिउ ज्यान अर्पिने भावना
मेरो बुवाको

गर्जन्थे र पो सबले सुने
उत्कृष्ट थिए र पो हामीले सिक्यौ
गोली जस्तो बोली
निडर भएर पो ज्यूंदो शहिद कहलिए
सलाम छ मेरो बुवा  

Sunday, January 6, 2019

दुई दशक - 2075/08/25


दुःखको आवरणमा तनावको उपहार पायौ
पीडा सागरमा निराशा डुबुल्कि मार्न, किन आयौ

पुरा भएनन् वाचा देखिएन कुनै आशा
आकाँक्षा अनेक लत्याई चहार्न, किन आयौ

अन्यौलको भुमरिमा आंखा भरी सपना लिई
आंधी बेहरीमा कसिंगर बढार्न, किन आयौ

विरहको गांसमा वेदनाको तिहुन मिची
रूखो सुखो एक छाक डकार्न, किन आयौ

दशक दुई लामा ओराली हरूमा
असफलताका अपराध सकार्न,  किन आयौ

राष्ट्रीय सेवा दल गीत

देशभक्त युवा, शक्तिको वल
हाम्रो प्यारो, राष्ट्रीय सेवा दल - २

युवा हामी आजका, भोली नेतृत्व दिन्छौं
ध्रुव जस्तै अटल हामी, सदा सत्य बोल्छौं
हाम्रो नशा नशामा, युवा जोश जांगर छ
कोशी धार रोक्न सक्ने, हामी संग तागत छ

देशभक्त युवा, शक्तिको वल
हाम्रो प्यारो, राष्ट्रीय सेवा दल

अनुशासन, वफादारी, इमान्दारी शक्ति हो
डटि लड्ने, मरि मेट्ने, त्यही देशभक्ति हो
राष्ट्रीय एकता, युवा दस्ता हामी स्वयं सेवक
विपदका बेलाका, हामी सबै केवट

देशभक्त युवा, शक्तिको वल
हाम्रो प्यारो, राष्ट्रीय सेवा दल

रंगी चंगी सयौं थरी, हामी सबै फूल हौं
मातृभूमि विकास गर्ने, हामी सबै मूल हौं
रिपु, अरि, वैरी सबै, हाम्रा लागी धूल सरी
देश वाशी सबै जन, हाम्रा आफ्नै कूल सरी

देशभक्त युवा, शक्तिको वल
हाम्रो प्यारो, राष्ट्रीय सेवा दल - २