Wednesday, September 25, 2019

जय नेपाल

                                                   २०७६/०६/०८
देशभक्त नेपालीले किन भनेनन् जय नेपाल ?
उनले जय देश गरे किन गरेनन् जय नेपाल ?

उनले गा-हो गरी भन्छन् यहाँ जय मातृभूमि
जय राष्ट्र बोल्छन् किन बोलेनन् जय नेपाल ?

विभाजित छन् ठूलाबडा यही एउटा मुद्दामा
जदौ बोके दर्शन बोके किन बोकेनन् जय नेपाल ?

बिल्ला लाग्ने डरले पैले उनी पनि डराएकै हुन्
सलाम ठोक्न लाए किन ठोकेनन् जय नेपाल ?

कसैको यो पेवा होइन छाती ठोकी हामी भन्छौं
राष्ट्रभक्त नेपाली सबले ठोक्नेछन् जय नेपाल

Thursday, September 19, 2019

के के ले सजाउँ ?

                                                     २०७६/०६/०१
पाखामा सजाउँ कि आँखामा सजाउँ
धनले सजाउँ कि मनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मुहार तिम्रो पूर्णेको जून जस्तो
यौवन तिम्रो अकबरे सून जस्तो
तूलमा सजाउँ कि फूलमा सजाउँ
सूनले सजाउँ कि जूनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मृग नयनी तिमि रेशमी केश छन्
तिम्रा सामु कुन अप्सरा शेष छन्
पारामा सजाउँ कि तारामा सजाउँ
चुराले सजाउँ कि कुराले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मयुरी चालमा बजेका मृदंग छन्
सुनकेस्रा ओठ तिम्रा सुकोमल अंग छन्
गहनामा सजाउँ कि चाहनामा सजाउँ
हातले सजाउँ कि मातले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

पाखामा सजाउँ कि आँखामा सजाउँ
धनले सजाउँ कि मनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

(सुवा - मनको मीत, मायालु,  सुनकेस्रा - सुन्तलाको चाना
बुझाउने गरी प्रयोग भएको, लोककथामा वर्णन गरिने
जुम्ली राजाकी अति सुन्दर रानी) 

Monday, September 16, 2019

रात परेपछि आउनु

                                                 २०७६/०५/२८
मन पैंचो दिउंला रात परेपछि आउनु
फाटेछ भने सिउंला रात परेपछि आउनु

अप्सरा हौ कि तिमि हौ कुनै मधुशाला
तिम्रै अधरले पिउंला रात परेपछि आउनु

रातमै खुल्छ क्यारे मीठो प्रेमको पाठशाला
अंगालोमा कसि दिउंला रात परेपछि आउनु

रित्ति सकेछ क्यारे हाम्रो प्रणयको भण्डार
बेसाहा गरेरै जिउंला रात परेपछि आउनु

प्रेमको अंगेनामा पकाई भावनाका परिकारहरु
प्रेमरसमा डुबाएर लिउंला रात परेपछि आउनु 

बोल्न सकेन

                                                   २०७६/०५/२८
बोल्न सकेन उसले मुख खोल्न सकेन
जिम्मा लियो तर कसैलाई पोल्न सकेन

लाला वाला अनि प्रेयसीलाई सम्झ्यो
राज सबै थाहा पाएपनि खोल्न सकेन

रानोको इशारामा झम्टिन (अरिंगाल) तयार थिए
थाहा पाएरै होला उसले विथोल्न सकेन

न आमा सुरक्षित यहां न त दिदीबहिनी
आफ्नै छोरी सम्झ्यो उसले गिजोल्न सकेन

शंख बजायो न उसले मशाल जलायो
सुनचाँदी संग ईमान पनि तोल्न सकेन

धूमकेतु बज्रिन्छ रे !

                                                       २०७६/०५/२८
खगोल शास्त्रीय अध्ययनले संकेत ग-यो
धूमकेतु पृथ्वी तर्फ सोझिएको छ
टक्रिने सम्भावना छ

प्रमुख सन्चार माध्यमहरुरको मुख्य समाचार  बन्यो
अलि तोडियो केही मोडियो

त्रिकालदर्शी काली बाबा गर्जे
प्रलय हुन्छ
वनदेवी माताले भनिन्
तहस नहस हुन्छ
पृथ्वीको आयु समाप्त हुने भयो
सुगाले पनि सोही खाम छान्यो

सरकारी आह्वान भयो
धैर्य धारण गर्नु

सबै मान्छे स्तब्ध र त्रसित
सबै सशंकित र हतारमा
एक आपसमा पनि बोल्दैनन्
शुरू गरेका काम सकाउने चटारो
बजार भरी डढेलो लागेसरी हल्ला छ
केही दिनमै धूमकेतु आइपुग्छ रे !

लेकमा खर्क स्याहार्ने ठागु
वेशीको खेत चाहार्ने माइला
लाहुर गएका गजे र दोर्जे
खाडीका चन्द्रे र काली
अमेरिका पुगेका सैम र डलि
सबै यो हल्लाले अत्तालिएका छन्
सबै आफ्नो परिवारमा एकत्र हुन आतुर छन्
हप्ता दिनमै धूमकेतु ठोक्किन्छ रे !

भर्खरै प्रेम विवाह गरेर डिपेन्डेन्सी भिसा लागेकि चमेली
आज मात्रै आमा बुवा भएका रामसीता र जन्मेको बालक
लोकसेवा पास गरी नियुक्ति पत्र लिएका शम्भूनाथ
चुनाव जितेर मन्त्री हुने दौडमा रहेका बिरजु दादा
नाम निकालेका छात्रवृत्ति पर्खेका डक्टर र इन्जीनियर
सबैको सपनामा तुषारापात हुने भयो
भोलीनै धूमकेतु बज्रिन्छ रे !

जता हे-यो उतै घुइंचो
सबै अस्त व्यस्त
फर्कने जहाजको टिकट पाउन मुश्किल
बसहरु खचाखच
पुल पुलेसा सडक सबैतिर
ट्राफिक जाम

फर्कने जहाजको पांग्रा निस्केन
लाहुरेहरुले विदा पाएनन्
ठागु र माइला बाढीपहिरोमा परे
शहर बजारमा भागदौड मच्चियो
कति लुटिए कति मारिए
कति बलात्कृत भए
आतंकले राज ग-यो

कति परिवारमा एकत्र भए
कति अलपत्र परे

एकत्र परिवारजनले रुंदै अंकमाल गरे
डर मिश्रित खुशी व्यक्त गरे
एकत्र हुन नसकेका परिवारजनको सम्झना गरे
र सामूहिक प्रार्थना गरे
सबैले संगै अन्तिम भोज गरे
आज रातीनै धूमकेतु बज्रिन्छ रे !

दु:ख सुखका कुरा गरे
गल्तीका लागी क्षमा मागे र दिए
आफ्ना पाप कर्मको फेहरिस्त लगाए
ईश्वरलाई साक्षी राखी सबैको सामुन्ने
गल्ती स्वीकार गरे
आत्मालोचना र आत्मग्लानी गरे
सबै खुलस्त भए र हल्का महसूस गरे
सबले एक अर्कालाई राम्ररी चिने
केही बेरमै धूमकेतु बज्रिन्छ रे !

कति नाता सत्य रहेनछन्
कति आफ्ना आफ्ना रहेनछन्
कति अपरिचित पनि आफ्ना रहेछन्
अनुहार मिले पनि साइनो कायम नभएका
अनुहार नमिले पनि सहोदर रहेछन्
सबै धूमकेतुको पर्खाइमा छन्
कुन बेला बज्रिन्छ र तहस नहस हुन्छ पृथ्वी
सबैको स्वीकारोक्ती पश्चात धेरैले मनमनै प्रार्थना गरे
हे भगवान ! त्रिकालदर्शी काली बाबाको भविष्य वाणी सत्य होस

रात गयो बात गयो
तर केही भएन

धूमकेतु पृथ्वी नजिकैबाट गुज्र्यो
खगोल शास्त्रीहरू अचम्ममा परे
अध्ययन गलत भएकोमा
एक अर्कालाई बधाई दिए
सन्चार माध्यमहरुले शुभ समाचार दिए
सबैले भगवानलाई धन्यवाद दिए
र विजयी मुस्कान छोडे
सबै स्तब्ध त्रसित मान्छे
सबै पुन: सबल मान्छे बने

धूमकेतु बज्रेन हल्लामा सीमित रह्यो
तर, उक्त हल्लाले कैयौंको मस्तिष्क विस्फोट भयो
कैयौंको सुन्दर बगैंचामा धूमकेतु बज्र्यो
सबैले पुन: सुन्दर बगैंचा बनाउने वाचा गरे
तर, सबल मान्छेकै शैली र आदर्श अनुसरण गरे
तैपनि, बगैंचा सुन्दर र रंगीन हुने कल्पना समेत गरे
हल्ला मत्थर भयो धूमकेतु पनि हुन्छ भन्ने बिर्सिए
दुनिया यथावत चल्यो

कालान्तरमा फेरी एक दिन
पुन: धूमकेतु पृथ्वी तर्फ सोझियो
मान्छेको संसार पुन: पहिले जस्तै स्तब्ध भयो
तर, मान्छे बाहेकको संसार यथावत
आफ्नो दिनचर्यामा तल्लीन रह्यो

धूमकेतु पृथ्वीमै बज्रिन्छ रे !

(पृथ्वी बाट चन्द्रमाको उत्पत्ति र तत्पश्चात डायनोसोरको
लोप जस्ता प्रलयंकारी घटनाहरु विशाल धूमकेतुहरु
पृथ्वीमा टक्रे पछि भएका हुन्)

धूमकेतु

                                                  २०७६/०५/२८
झरेको छ तारा कहिं धूमकेतु त होइन?
संसारै त्रस्त छ कहिं धूमकेतु त होइन?

देशभक्त त्यागी उनी ठूला नेता हुन रे
ज्यूंदो नक्षत्र भन्छन् कहिं राहु केतु त होइन?

भूंडी ठूलो छ तिनी बडा हाकिम हुन् रे
अड्डामै भनौंला कहिं घूसकेतु त होइन?

कुरा ठूला छन् दर्शन पनि ठूलो छ
तथास्तु भनेकाछन् कहिं फूसकेतु त होइन?

मीठो छ बोली रसिलो छ व्यवहार
तीरै नजरको छ कहिं रूपकेतु त होइन?

(पृथ्वी बाट चन्द्रमाको उत्पत्ति र तत्पश्चात डायनोसोरको
लोप जस्ता प्रलयंकारी घटनाहरु विशाल धूमकेतुहरु
पृथ्वीमा टक्रे पछि भएका हुन्) 

Friday, September 13, 2019

चानो आफ्नो बन्छ

(सम्पूर्ण सैनिक/ सुरक्षाकर्मीहरु लाई समर्पित)
                                                         २०७६/०५/२६
तानो मानो सरकारी चानो आफ्नो बन्छ
दु:ख जिलो गरे पछि दानो आफ्नो बन्छ

अनुशासन वफादारी देखाउँ देशभक्ति
उन्नति र प्रगतिको पानो आफ्नो बन्छ

ज्यानको बाजी लाउनु पर्छ धोका दिनु हुन्न
बूट जोडले बजारेछि रानो आफ्नो बन्छ

देश जनताको सुरक्षा नै एक मूल मन्त्र
त्यस पछि सुरक्षित घर सानो आफ्नो बन्छ

छानी छानी गिंड्नु पर्छ गोली ठोक्नु पर्छ
आफु सबल भए शत्रु कानो आफ्नो बन्छ

(तानो - कपडा, मानो - खाना, चानो - निधार,भाग्य,
दानो - पारिवारिक भरण, पोषण, पानो - अभिलेख,
रानो - नेतृत्व, कानो - काम नलाग्ने, कमजोर)

Thursday, September 12, 2019

हतार नगर सानी

                                                           २०७६/०५/२६
ढोका नलाई वत्ती निभाउन हतार नगर सानी
मात्तिएं म ओछ्यान मिलाउन हतार नगर सानी

बीसौं वर्ष लाग्न सक्छ दूध पानी छुट्टयाउन
पहिलो भेटमै धीत मराउन हतार नगर सानी

रस चाख्दै भुन भुनाउने जाली भमरा हो
लट्ठ परी मग मगाउन हतार नगर सानी

व्यापारी हो सपनाको ललाई फकाई गर्ला
सो-ह श्रृंगार सजाउन हतार नगर सानी

श्रृजनाको फूल फुल्ने रितु आ को छैन
छोरो पेटमै कन्दनी समाउन हतार नगर सानी

Monday, September 9, 2019

एउटै गति

                                                 २०७६/०५/२३
प्रकाश होस कि चञ्चल मनको एउटै गति
असी कटे पछि तन तनको एउटै गति

कोही रोडपति त कोही करोड़पति हुन्छन्
भुंइचालो झुल्के पछि जन जनको एउटै गति

कल कल झरना वग्ने हराभरा उपवन हुने
उजाड भए पछि वन वनको एउटै गति

मायामा उडीरहुं प्रेममा डुबीरहुं लाग्ने
विरक्त लागे पछि मन मनको एउटै गति

सात सुरको सुरीलो संगीत हुन्छ भन्छन्
बहिरो भए पछि सबै छम छमको एउटै गति

दमदार हुनु पर्छ

                                                   २०७६/०५/२२
भाषण जस्तो भए पनि ताली दमदार हुनु पर्छ
उसलाई उसले  गर्ने गाली दमदार हुनु पर्छ

उम्मेदवार तगड़ा छन् भीडन्त जोडदार हुनु पर्छ
आफ्नालाई मात्र छिराउने जाली दमदार हुनु पर्छ

सत्यको सिंगौरी होइन लडाई आरपार हुनु पर्छ
झूटकै खेती गरे पनि बाली दमदार हुनु पर्छ

दोष व्यर्थै नलाउ साथी तिमि ईमानदार हुनु पर्छ
व्यापार इमानकै भए पनि थाली दमदार हुनु पर्छ

गुदी जस्तो भए पनि बोक्रा चमकदार हुनु पर्छ
बोली वचन जे भए नि काली दमदार हुनु पर्छ


सिकाएनौ गुरू बा

                                         २०७६/०५/२२
छली ढांटी चोरी गर्न सिकाएनौ गुरू बा
ईमान जमान तल पर्न सिकाएनौ गुरू बा

जन सेवा देशभक्ति यही मूल मंत्र भन्यौ
आफ्नो लागी भाई मार्न सिकाएनौ गुरू बा

जाली झेली माथी जाने सोझा हे-या हे-यै
छेपारो झैं रंग फेर्न सिकाएनौ गुरू बा

सत्यवादी ईमानदारलाई नरुचाउने रैछन्
छिन छिनमा बोली बेर्न सिकाएनौ गुरू बा

सफल हुन नसके नि असल हुनु भन्थयौ
अंगालोको साथी सेर्न सिकाएनौ गुरू बा

Saturday, September 7, 2019

मुक्तक हरु

                                            २०७६/०५/२१
१. कति मौका नपाएर ईमानदार बने ?
    कति चौका नआएर ईमानदार बने ?
    सकुनि चाल त सबै चल्न खोज्छन् हजुर
    कति कपटि पासा नपाएर ईमानदार बने ?

२. बलेको होइन गलेकोलाई उठा
    चलेको होइन जलेकोलाई उठा
    तरवार त कायरले पो उठाउँछन् बाबु
    सक्छस भने नजरमा ढलेकोलाई उठा

३. कुकुर भुकेका छन् बिस्तारै आउनु
    नजर झुकेका छन् बिस्तारै आउनु
    सास रोकेर तिमिलाई कुरीरहेको छु
    यमदूत ढुकेका छन् बिस्तारै आउनु

                                             २०७६/०६/१२
४. ढक ढक गरे द्वारमा तिमिले खोलिनौ
    चिच्याए कराए बेकारमा तिमिले खोलिनौ
    प्रेमबुटी स्नेहलेप थियो तिम्रोलागी सौगातमा
    त्यो सबै बिक्यो भरमारमा तिमिले खोलिनौ

                                            २०७६/०६/१३
५. सुख समृद्धि बढोस हाम्रो दशैंमा
    कसैका लागी नबनोस चाम्रो दशैंमा
    शुभकामना उल्लासमय जीवनको
    मान्नेजति सबैको होस राम्रो दशैंमा
                                           २०७७/०६/२२
६. जन्मेको घर आफ्नो छाड्न छन् बाध्य बहिनी 
    लुकाउन दु:ख आफ्नो सिपालु छन् असाध्य बहिनी 
    आधा धरती आधा आकाश कि स्वामिनी तिमी 
    हरेक समस्या समाधान कि छन् साध्य बहिनी 


Thursday, September 5, 2019

भरम

                                  २०७६/०५/१७
भरम हो भरम हो भरम हो
यो जिन्दगानी एउटा भरम हो

आलो पालो गर्नु पर्ने
ऐंचो पैंचो तिर्नु पर्ने
गर्नु पर्ने तिर्नु पर्ने
यो जिन्दगानी एउटा परम हो
परम हो परम हो परम हो
यो जिन्दगानी एउटा भरम हो

दिन रात खट्नु पर्ने
मरी मेटी जुट्नु पर्ने
खट्नु पर्ने जुट्नु पर्ने
यो जिन्दगानी एउटा करम हो
करम हो करम हो करम हो
यो जिन्दगानी एउटा भरम हो

सफल मात्रै हुनु पर्ने
नाफा मात्रै लिनु पर्ने
हुनु पर्ने लिनु पर्ने
यो जिन्दगानी एउटा चरम हो
चरम हो चरम हो चरम हो
यो जिन्दगानी एउटा भरम हो

आफु पहिलो हुनै पर्ने
जीत आफ्नो हुनै पर्ने
हुनै पर्ने हुनै पर्ने
यो जिन्दगानी एउटा जरम हो
जरम हो जरम हो जरम हो
यो जिन्दगानी एउटा भरम हो

भरम हो भरम हो भरम हो
यो जिन्दगानी एउटा भरम हो

(भरम - भ्रम,  करम - कर्म,  परम - पर्म, श्रम साटासाट
चरम - नकारात्मक सीमा, अति   जरम - अपराध, जन्म)

Monday, September 2, 2019

क्षमा याचना

                                                            २०७६ भाद्र १६

"ले बहादुर मलुली (न अमिलिएको) छाँच (मोइ)कि मैरी खा... , मेरो नाना..., मेरो कुत्त्या..., (नाना, कुत्त्या -प्रिय बच्चा लाई बोलाउने शब्द)" मेरी आमा (इजा) का ममतामयी शब्दहरु मेरालागी असह्य हुन्थे र म त्यो खाना लाई टाढा हुर्याईिदन्थे किनकी मलाई मैरी (मोइमा पकाईएको भात) उतिसारो मन पर्दैनथ्यो ।

त्यस्तो छुद्र र असह्य ब्यबहार गर्दा पनि आमाको मायामा कुनैकमी आउथेन र केही समय पछी फेरी भैंसीको सुद्ध दूधमा पाकेका केरा मुछेर दिदै भन्नु हुन्थ्यो " मैरी त नाइ खाएइ रे दूध ओल्या केला खा पुइ" (मैरी त खाइनस तर दूध मा मुछेका केरा त खाइ दे) त्यस पछी मैले मेरी आमामा उपकार गरे जस्तैगरी खान्थे तर दूधमा मुछेका केरा वास्तव मै धेरै स्वादिष्ट हुन्थे । चाड पर्वहरुमा अतिनै स्वादिष्ट माँडा (चामलको पिठो लाई लेदो जस्तैबनाई घ्यु हालेर तावामा पकाइने बहुतले रोटी) पकाएर दिनुहुन्थ्यो र म मीठो मानी मानी खान्थे । आज भन्दा ४० - ४५ वर्ष अघी उपर्युक्त परीकारहरु म हुर्केको ठाउँ महेन्द्रनगर मा विशेषरूपले प्रचलित थिए र राम्रो खानगीको बर्गमा पर्दथे यद्धपी ती परिकारहरु मेरा लागी नौला थिएनन् ।

स्वाभाविक बाल सुलभ ब्यबहार कै कारणले होला मैले मेरी आमाको अमूल्य ममतामयी अनुरोध हरुको अबहेलना गरेको । अहिले सम्झिदा मैले आफै लाई धिक्कार गर्न मन लाग्छ र आमाको ममतालाई बुझ्न नसकेकोमा पछुतो पनि लाग्छ । कहिलेकींहि एक्लै बसेको बेला उक्त कुरा सम्झिदा मन मुटुनै भक्कानिएर आउछ र डाँको छोडेर रुने मन लाग्छ ।

मैले किन बुझिन आमाको मायाको ओज, मैले किन लत्त्याए होला त्यस्ता खानेकुराहरु । अहिले म सम्पूर्ण भक्तिभावका साथ साष्टांग दन्डवत गरी माफी माग्न चाहन्छु । मैले नजानिकनै हजुरको ममतामयी मुटु दुखाए । म अहिले तिनै खानेकुराहरु हजुरकै हातबाट खान चाहन्छु । हे भगवान सम्भव छ भने मेरो बालापन फर्काइ दे, मलाई मेरी आमा को हातबाट सबै खानेकुराहरु मीठो मानी मानी खाने मन लागेको छ ।

जीवन निर्वाह गर्ने बाध्यताको कारणले मैले आमाको छत्र छाया बाट टाढा रहनु परेको छ | कैले काहि आमाको सामीप्य पाउन र आशीर्वाद लिन जाँदा मेरो रुची अनुसार "बहादुर त माँडा निका माडन्छ" बहादुर (म) लाई माँडा मन पर्छ भनी जसरी भए पनि मेरो लागी माँडा पकाउनु हुन्छ र म ती माँडा का हरेक गाँसमा आमाको मायाको स्वाद महसूस गर्दै खाने गर्छु तथा पल पल आमाको ममता बाट बन्चित हुनुपरेकोमा आफ्नो भाग्यलाई सराप्दै दुःखको घुड्को संगै निल्ने गर्दछु | यो जिन्दगानीको भाग दौडमा भाग्यमानी व्यक्तिहरूले मात्र आमाको ममतामयी छहारीमुनी रही सेवा गर्ने अवसर पाउँछन् र म यो मामलामा मेरो भाई समर जंग बहादुर चन्दलाई भाग्यशाली ठान्दछु | उसले निस्वार्थ भावनाले आमा बुवाको सेवा गर्ने अवसर प्राप्त गरेको छ उसलाई मेरो तर्फ बाट धन्यवाद तथा आशीर्वाद छ | मलाई विश्वास छ उसले आमालाई मेरो कमी महसूस हुन दिने छैन |  हार्दिक आभार |

मैले कतिपय अवस्थामा अज्ञानतावस र कतिपय अवस्थामा बच्चैदेखी लागेको बानीको कारणले आमाको मायाको अवमुल्यन गरेको महसुस गरेको छु जसका लागी म मेरी अतीनै प्रिय, पूजनीय, ममतामयी आमा(ईजा) सँग क्षमा याचना गर्न चाहन्छु मलाई विश्वाश छ मेरी आमाले मलाई अवस्य क्षमा गरी दिनुहुनेछ ।

आफ्ना प्रिय सन्तानहरु लाई बोलाँउदा कसैले नाना, कुत्त्या जस्ता शब्द प्रयोग गरी बोलाएको देख्दा मेरी आमालेनै मलाई बोलाएको हो कि भन्ने भान हुन्छ । आज भन्दा ४० - ४५ वर्ष अगाडी सुद्ध दूध, सत् प्रतिशत अर्ग्यानिक (हाल धेरै प्रचलित शब्द) केरा, स्वादिलो शुद्ध मोइ, अर्ग्यानिक चामल (कुनैपनि विषादी र रसायनिक मल प्रयोग नगरिएको तथा ढिकिमा कुटिएको पोषणयुक्त) र दाउरामा पकाएको मैरी त्यस्तै अर्ग्यानिक चामलको पिठो, बास्नादार साथै दानादार घ्युमा पकाइएका माँडा पाउनु यो शहरीया जीवनमा कती नै संभव होला र ? तर मैले मेरी आमालाई भेट्न मात्र पाउनु पर्छ मेरी आमाले उक्त सबै खानेकुराहरु आमाको ममतामा मुछेर मायाको न्यानोपनले सेकेर पकाउन सक्नुहुन्छ । मेरी आमाले पस्कने खानाको तुलना शहरका 5G Kids हरुले गूगल गर्दै खोजेका रेस्टुरेन्ट र घरमै डेलिभरी गर्ने डेमलभरी ब्वायले ल्याउने पिज्जा, बर्गर र हट डग सँग कदापी हुन सक्दैन ।

मेरी आमा(ईजा) हजुरको ममता र आशीर्वाद मेरालागी सदैव रहीरहोस ।