Wednesday, January 28, 2009

मौन बस्नु जाति

सुन्दैनन् अर्ति भने, मौन बस्नु जाति
गन्दैनन् तिमिलाई भने, मौन बस्नु जाति ।

नकमाउनु बैरी संधै, उपदेश मात्रै दिई
चित्त तिम्रो नबुझे नि, ओठ कस्नु जाति ।

सांचो संधै तितो हुन्छ, औषधि नि तितै
मह तिमि दिंदै दिन्नौ, मनै झोस्नु जाति ।

थाप्नै पर्छ तिमिले हैंसे, ठूलाको होस्टेमा
जुध्नै हुन्न भित्ता सित, चिप्लो घस्नु जाति ।

बस्नै परे विपक्षमा, गर्नु मौन विरोध
तुहि जाने विरोध, भन्दा घुंडा धस्नु जाति ।

मेरी आमा

अस्त ब्यस्त बाल्यकाल
अपहरित मातृत्व
झ्याङ्गिएको गरिबी
अन्कन्टार भू - तल
थकित पितृत्व का बीच
स्तब्ध निरक्षर मेरी आमा

परदेशि खसम
वास्तविक ससुरली
इर्स्यालु कुरौटे जमात
अनुत्पादक नङ्ग्रा खियायी
लेक, गाउँ र बेशीका बीच
रणभुल्ल मेरी आमा

गोठ भरि गौ
पाण भरि मौ
सन्तृप्त जीवन शैली
ब्यस्त पति पर्मेश्वर
हुर्किदो सन्तती बीच
अभ्यस्त मेरी आमा

दीर्घायु को अभिलाषा
बिकर्षित सन्तती वृत्त
अपुरित सपनाहरु बोकी
गोधुली सन्ध्या चाहार्दै
असीम मातृत्व छर्ने
डाँडा माथिकी जून मेरि आमा

निरक्षर भएरै स्तब्ध छिन
अभ्यस्त भए पनि रणभुल्ल छिन
डाँडा माथिकी जून भएर हो कि?
उनलाई आज
परिचय को सार्है खडेरी परेको छ
मेरी आमा...
--------------------------------------------------
गोठ: गाई वस्तु पाल्ने ठांउ घरको भुंई तला
गौ: गाई वस्तु
पाण: मान्छे वस्ने ठांउ घरको माथिल्लो तला
मौ: परिवार

म यस्तै छु

बुझिन तिम्रो ईशारा, म यस्तै छु
सुनिन तिम्रो कुरा, म यस्तै छु ।

आफ्नो सम्झे जसलाई, मैले जसलाई चाहे
बुझाउन सकिन आफ्नो कुरा, म त्यस्तै छु ।

गरे लाखौं कोशिष, सयौं मन्दिरमा गए
हुन सकिन म तिमि जस्तो, म जस्तै छु ।

कालै भने कालो लाई, सेतो भन्नै सकिन
दिनलाई रात भनिन के गरौ, म मस्तै छु ।

तिमि जे हौ, आफ्नै रुपमा वस 'सुमन'
न छोप हत्केलाले मलाई, म अभ्यस्तै छु ।

कुरा काट्ने हरु

टोल चोक र गल्लीहरुमा, बग्रेल्ती छन् कुरा काट्नेहरु
खाली हातै तैनाथ छन्, कुरा काट्नेहरु ।

तिलको पहाड बनाई सक्छन्, आंखाको झिम्काईमा
कुरा काट्छन् बगरे झैं, कुरा साट्नेहरु ।

रोजगारी प्रसस्तै छ, प्रमाण पत्रै नचाहिने
विदेश तिमि जांदै नजाउ, ए कुरा चाट्नेहरु ।

सजिलो छ काम धेरै, मात्रै कुरा रेटि राख्ने
वाउलाई पनि किन छाड्नु, कुरा छांट्ने हरु ।

शत्रु पनि सलाम गर्छन्, रणभूमिमा मर्नेलाई
मरेकालाई नि गोली हान्छन्, कुरा ढांट्नेहरु ।

कहाँ छ दुनिया

यहाँ छ कि त्यहाँ छ, कहाँ छ दुनिया ?
आकाश कि पातालमा, कहाँ छ दुनिया ?

गाउँमा कि शहरमा, वनमा कि जंगलमा
सिर्जना कि बिनासमा, कहाँ छ दुनिया ?

मिलन कि बिछोडमा, सरलता कि कपटमा
विशालता कि सूक्ष्मतामा, कहाँ छ दुनिया ?

शान्तिमा कि विद्रोहमा, आत्मीयता कि तिरस्कारमा
हल्ला कि सत्यतामा, कहाँ छ दुनिया ?

गीतामा कि वाइवलमा, त्रिपिटक कि कुरानमा
अह 'सुमन' यहाँ छदै छैन, यो दुनिया मा दुनिया ।

होस न हराउनु

चन्द्रमा नै छोए पनि, न हराउनु होस
तिमि आफै हराए नि, न हराउनु होस ।

सागर मै डुबे पनि, ब्रह्माण्ड मै अल्झे पनि
भाशिए नि रसातल मै, न मराउनु जोस ।

पाए पनि हिरा मोती, कुवेर आफै भए पनि
क्षण भर मै गुम्न सक्छ, न देखाउनु रोष ।

मेनका नै हुन सक्छिन, आउन सक्छिन उर्वसी नि
ईन्द्र पनि हार्न सक्छन्, न केलाउनु दोष ।

धर्मराज नि हारेकै हुन्, रावण पनि हारे
सम्राट हरु सबै हारे, हराएरै होस ।

दर्शन

दर्शन नानु ।
दर्शन भनेको के हो बाबा ?
जीवन दर्शन...

जीवन भनेको नि ?
संघर्ष हो जीवन ।
संघर्ष मेरो साथीको नाम हो बाबा

संघर्ष हौशला हो नानु ।
हौशला रातो हुन्छ, हो बाबा ?
हौशला हार्नु हुन्न नानु ।

हार् यो भने के हुन्छ ?
संघर्ष हुदैंन ।
किन चाहियो संघर्ष ?

जीवनको लागि
जीवन त दर्शन हो बाबा
दर्शन नानु, दर्शन…

असल मान्छे

ठूलो मान्छे न बन्नु है, बन्नु तिमि असल मान्छे
नभए नि तिमि सफल, बन्नु तिमि असल मान्छे ।

आफै गर्नु काम आफ्नो, दोष तिमि न दिनु है
उसको दुःखमा रुनु तिमि, हुनु तिमि सजल मान्छे  ।

कमि आफ्नो पहिल्याउनु, न कोट्याउनु दायां बायां
असक्तलाई सघाउनु है, बन्नु तिमि जबर मान्छे ।

कुरा गरि ठूला ठूला, कोरा सपना नबांडनु है
नगर्नु है मनको ब्यापार, राख्नु मनमा सबल मान्छे ।

मूर्ति सरि मन्दिरको, न हुनु है अचेत मान्छे
घण्टि ठूलो बजाउनु, जगाउनलाई असल मान्छे ।

मीठा कुरा

तितो मनको मनमै राखि, कुरा मात्रै मीठा गर
जाल चाहे तिमि बुन, कुरा मात्रै मीठा गर ।

धराप चाहे तिमि थाप, सल्काइ देउ संसार
गरेपनि उसको खून, कुरा मात्रै मीठा गर ।

व्यापारी भई सपनाको, आशा चाहे तिमि बांड
डुबे पनि उसको जून, कुरा मात्रै मीठा गर ।

दियो उसको निभे पनि, सिन्दुर उसको पुछिएनि
नचाहेनि उसको हुन, कुरा मात्रै मीठा गर ।

तर खोलो विर्स लौरो, 'सुमन' यस्तै छ संसार
भएपनि कालो मन, कुरा मात्रै मीठा गर ।

पाए हुन्थ्यो

तिमि संग एकान्तमा माया, गांस्न पाए हुन्थ्यो
पिरतीका मीठा कुरा, गर्न पाए हुन्थ्यो ।

संगै मर्ने संगै जिउने वाचा, बांध्न पाए हुन्थ्यो
तिमि संग रुखो एक छाक, खान पाए हुन्थ्यो ।

तिमि हिंड्ने गोरेटोमा, टेक्न पाए हुन्थ्यो
तिमि जाने पंधेरोको पानी, पिउन पाए हुन्थ्यो ।

तिमि संधै गुन गुनाउने गीत, गाउन पाए हुन्थ्यो
तिम्रो मनको मिठो सपना, देख्न पाए हुन्थ्यो ।

तिमि संगै मनका कुरा, साट्न पाए हुन्थ्यो
तिम्रै मनको भावनामा, वग्न पाए हुन्थ्यो ।

रात रमाईलो हुन्छ

मैले सुन्या छु यहां, रात रमाइलो हुन्छ
तिमिले चाल पायौ कि, रात रमाइलो हुन्छ ?

हजारौं मान्छे आउँछन, जान्छन आफ्नै तालमा
म कसरी भनौं कि ? रात घमाइलो हुन्छ ।

आज सम्म म बसे, कसैको आसै आसमा
मलाई सम्झना छैन, कि रात तम्तमाइलो हुन्छ ?

मलाई सबैले सम्झाए, फर्क आफ्नै संसारमा
आउ तिमि नै भन कि, रात मताइलो हन्छ ।

बुझ्नै न सकिने रहेछ, यो दुनियां 'सुमन'
मलाई पत्याउनै गाह्रो भो, कि रात रमाइलो हुन्छ ?

निरीह मान्छे

धर्म र दर्शनको, ज्ञान र बिज्ञानको
व्याख्या गर्दछ यहाँ, एक निरीह मान्छे ।

युद्ध र वीरताको, इतिहास र राजनीतिको
पाना पल्टाउँदैछ त्यहाँ, एक निरीह मान्छे ।

भौतिकता र समाजवादको, साम्यवाद र रसायनको
अनेक प्रयोगमा व्यस्त छ कहाँ,  एक निरीह मान्छे ।

जलमा र थलमा, वायु र नभमा
राज गर्ने प्रयासमा छ जहाँ, एक निरीह मान्छे ।

आफुलाई सर्वमान्य ठानि, ए निरीह 'सुमन'
प्रकृतिलाई न जिस्का वहाँ, एक निरीह मान्छे ।

त्यहाँ भित्र के छ

तडक भडक बाहिर, त्यहाँ भित्र के छ ?
चम्किलो छ रनवन, त्यहाँ भित्र के छ ?

रसिला छन अधर, छन चम्किला नयन
कोमल छ त्यो मन, त्यहाँ भित्र के छ ?

अभेद्य छन पर्खाल, उन्नत अट्टालिका
सुन्दर छ आँगन, त्यहाँ भित्र के छ ?

थुप्रै छन पाना, बाक्लो आवरण
छ अदृश्य पवन, त्यहाँ भित्र के छ ?

गोलो छ पृथ्वी, व्रद्माण्ड पनि गोलै
गोलै छ गगन, त्यहाँ भित्र के छ ?