Friday, March 22, 2019

जगदल

                                २०७१ साल

सेनाको कर्मठ एक बल
वीर योद्धाहरुको जगदल

नभ संग्रामको सारथी
देश र जनताको महारथी
रिपुमा निरन्तर बज्रिने
सगरमाथा झैं आकाशमा ठडिने

देशमा समर्पित एक बल
धीर लडाकुहरुको जगदल

पुर्खाको साहसले सजेको
पौरखी हातले धजेको
धैर्यको ढालले अडेको
वीरको रगतले सिंचेको

हरदम तयार एक बल
अजेय अमर जगदल

सदैब सेवामा खट्टिने
सर्वत्र देशमा रट्टिने
सुरक्षा गर्नमै लट्ठिने
वायुवैरी हरु भुट्टिने

आकाशै ताकने एक बल
त्यागी शहीदहरुको जगदल

सेनाको कर्मठ एक बल
वीर योद्धाहरुको जगदल

Sunday, March 17, 2019

मर्ने तयारी


                                  २०७५\१२\०२

कायम राखौं ईमान पृय, तयारी मर्ने गरौं
गरौं सबको सम्मान पृय, तयारी मर्ने गरौं

विष मनको वमन गरौं, माया प्रेमका कुरा गरौं
खाऔं अमृतको जाम पृय, तयारी मर्ने गरौं

आत्मा आफ्नो साछी राखी, परमात्माका कुरा गरौं
जाऔं यस्तो धाम पृय, तयारी मर्ने गरौं

अन्तरमनको पुकार सुनौं, ढुक ढुकीका कुरा गरौं
छरौं यस्तो ज्ञान पृय, तयारी मर्ने गरौं

नाता गोता छर छिमेकमा, सुख दुःखका कुरा गरौं
छाडौं यस्तो पैगाम पृय, तयारी मर्ने गरौं

रीस राग अहंकारका, महल गाल्ने कुरा गरौं
साटौं यस्तो मुस्कान पृय, तयारी मर्ने गरौं

स्वाभिमानको तरवारले, शत्रु ढाल्ने कुरा गरौं
बाचौं यस्तो शान पृय, तयारी मर्ने गरौं

तिर्नु भर्नु केही भए, हर हिसाबका कुरा गरौं
राखौं यस्तो नाम पृय, तयारी मर्ने गरौं

जाग्राम बसी सपना हेरौं, सपनाकै कुरा गरौं
डाकौं यस्तो बिहान पृय, तयारी मर्ने गरौं

कायम राखौं ईमान पृय, तयारी मर्ने गरौं
गरौं सबको सम्मान पृय, तयारी मर्ने गरौं